राहुल त्रिपाठी चम्केपछि कोलकताद्वारा चेन्नई १० रनले पराजित
 
kkr

राहुल त्रिपाठी चम्केपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकता नाइड राइडर्सले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ।

आइपीएलमा तेस्रो जित निकालेको कोलकता ६ अंकमा तेस्रो स्थानमा छ। पाँचौ स्थानमा रहेको चेन्नईले चौथो हार भोगेको छ। कोलकताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो।

दोस्रो विकेटका लागि आम्बाती रायुडु रसेन वाटसनले ६९ रनको साझेदारी गरेपनि जितका लागि पर्याप्त भएन। वाटसन ५० रनमा एलबीडब्लू आउट भए। वाटसनले ४० बलमा ६ चौका र १ छक्का प्रहार गरे। रायुडु ३० रनमा पवेलियन फर्के।

ओपनर फाफ डु प्लेसिस १७ रनमा क्याच आउट भए। महेन्द्रसिंह धोनी ११ रनमा बोल्ड आउट भए। केदार जाधव ७ र रवीन्द्र जडेजा २१ रनमा नटआउट रहे। कोलकाताका लागि सुनिल नारायण, शिवभ माभी, वरुण चक्रवर्ती, कमलेश नगरकोटी र आन्द्रे रसेलले एक एक विकेट लिए।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा अल आउट हुँदै १ सय ६७ रनको योगफल तयार पारेको थियो। ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान दिए।

त्रिपाठीले ५१ बलमा ८ चौका र ३ छक्का हाने। पहिलो विकेटका लागि त्रिपाठी र सुभमन गिलले ३७ रनको साझेदारी गरे। प्याट कमिन्स १७ रनमा अविजित रहे। कमलेस नगरकोटी र शिभम् माभी शुनय रनमा आउट भए। ड्वेन ब्राभोले आफ्नो स्पेलमा ३७ रन खर्चेर ३ विकेट लिए। करण शर्मा, शार्दुल ठाकुर र साम करनले २–२ विकेट लिए।