प्याब्सन धनगढी विधान विपरित चल्दैः ओसन पब्लिकेशनको पुस्तक  नलगाउने स्कुललाई निलम्बनदेखि ५० हजारसम्मको जरिवाना
 
school

धनगढीका निजि स्कुलमा ओसन पब्लिकेशनको पुस्तक लगाउन निजि स्कुलको छाता संगठन प्याब्सन धनगढीले उर्दी जारी गरेपछि नयाँ तरंग पैदा भएको छ । प्याब्सन धनगढीको कार्य समितिको निर्णय अनुसार सबै निजि स्कुलमा अनिवार्य रुपमा ओसन पब्लिकेशनको कम्प्युटर विषय लगाउन उर्दी जारी गरेको सार्वजनिक भएपछि नयाँ नयाँ कुराहरु वाहिर आउन थालेका छन् ।

2

ती विद्यालयहरुलाई अनिवार्य रुपमा ओसनकै कम्प्युटर विषय लगाउन संस्थाको कार्य समितिले नै उर्दी जारी गर्दै निर्णय अनिवार्य रुपमा किताब लगाउन निर्देशन दिईएपछि धनगढीमा खैलाबैला मच्चिएको छ ।  प्याब्सनको निर्णय नमान्ने स्कुललाई १० हजारदेखि ५० हजारसम्म जरिवाना बुझाउन परिपत्र गरिएको छ । निर्णय नमान्ने स्कुललाई कडा कारवाहीको चेतावनी पनि पत्र मार्फत नै दिईएको छ ।

निर्णय नमान्ने निजि स्कुललाई अनिवार्य रुपमा जरिवाना रकम धनगढी स्थित नवजीवन को–अपरेटिभ्समा जम्मा गरेर जरिवाना रकम तिरेको पत्र प्याब्सन कैलालीमा बुझाउन भनिएको छ । यो घटना सार्वजनिक भएसँगै प्याब्सन धनगढी संस्थाको विधान विपरित सञ्चालन भएको आरोप लागेको छ । 

2

प्याब्सन धनगढी अन्तर्गत ५३ विद्यालय आवद्ध रहेका छन् । प्याब्सन धनगढीले अघिल्लो बर्ष आयोजना गरेको विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा ओसन पब्लिकेसनले प्रायोजन गरे वापत स्कुलहरुमा कम्प्युटर किताब लगाउने सहमति गरेको थियो । सो सहमति नमान्ने स्कुललाई धम्कीपुर्ण भाषामा किताब लगाउन भनिएको छ ।

प्याब्सन धनगढीका अध्यक्ष पदमवहादुर सावदले भने संस्थाको निर्णय पालन नगर्नेलाई कारवाही गर्न पत्र पठाएको जानकारी दिए । उनका अनुसार ९ वटा विद्यालयले सो पुस्तक लगाउन अटेरी गरेका थिए । ७ वटा विद्यालयहरुले लगाउने सहमति जनाईसकेका छन । दुई वटा विद्यालयले भने किताब लगाउन मानेका छैनन् । ओसन पब्लिकेशनले प्रायोजन वापत एक लाख ५० हजार रुपैयाँ प्याब्सन धनगढीलाई दिएको थियो । 

1

प्याब्सन धनगढीको कार्य समितिको वैठकले ओसन पब्लिकेशनको कम्प्युटर किताब लगाउने निर्णय गरिएको थियो । सो निर्णय नमान्नेलाई पत्र मात्रै नपठाएर विधान विपरित निलम्बन समेत गरेको पाईएको छ । प्याब्सनको विधान अनुसार नगर समितिले जिल्ला र जिल्लाले केन्द्रलाई निलम्बनका लागि सिफारिस गर्नुपर्ने हो । तर धनगढी नगर समितिले भने आफैं कारवाही गर्दै निलम्बन गरेको छ । संस्थाको नियम नमानेको र अटेरी गरेको भन्दै स्टेपिङ स्टोन स्कुललाई कारवाही गरिएको छ ।

कारवाही गर्नुभन्दा पनि संस्थाको लागि आर्थिक स्रोत आवश्यक परेमा लेवी उठाउन सकिने प्याब्सनमै आवद्ध सदस्य विद्यालयका सञ्चालनहरु बताउँछन् । ‘किताब नै छनोट गर्नुको कारण पनि भन्नुपर्छ । उत्कृष्ट किताब हो भने प्रमाणित गर्नुपर्यो । आर्थिक स्रोतकै लागि हो भने कोटेशन माग्नुपथ्र्यो । त्यसबाट अझ वढी आम्दानी हुन्थ्यो ।’ ती विद्यालय सञ्चालकले भने– ‘यो अहिले गरिएका निर्णयहरु हचुवाको भरमा भए । गैरकानुनी रुपमा यसरी काम गर्न पाईन्छ । स्कुलहरुलाई पेलेर लैजान खोजेको देखियो । अहिले गरिएका निर्णयहरुले पुच्छरले कुकुरलाई हल्लाउन खोजेको जस्तै भयो ।’

2

प्याब्सन कैलाली दुई समुहमा कित्ताकाट भएका कारण अहिलेको समस्या सिर्जना भएको बताईएको छ । विवादको सुरुवात भने धनगढी उपमहानगरपालिकाको छलफल कार्यक्रमबाट सुरु भएको हो । सो कार्यक्रममा प्याब्सन धनगढीले विद्यालय खोल्ने धारणा बनाएको थियो । तर छलफलमा सहभागी स्टेपिङका प्रिन्सिपल रामजी हमालको कुराबाट सुरु भएको थियो । उपमहानगरपालिकाको छलफलमा हमालले कोभिडको धारणामा भौतिक रुपमा चलाउन गाहे हुने भएकोले अनलाईन पढाउँदा ठीक हुन्छ भनेर धारणा राखेका थिए ।

त्यही संगठनको धारणा विपरित विचार राखेको भन्दै विवाद सुरु भएको थियो । त्यसपछि असोज १ गते स्टेपिङलाई निलम्बन गरेको थियो । असोज ८ गते भने हमाललाई स्पष्टीकरण सोधेको थियो । तर निलम्बन भईसकेको अवस्थामा हमालले स्पष्टीकरण दिन नमानेपछि असोज १५ गते पत्र लेख्दै ५० हजार जरिवाना जम्मा गर्दै क्षमायाचना गर्न पत्र पठाएको बताईएको छ । तर यस वारेमा बुझ्न खोज्दा स्टेपिङ स्टोनका प्रिन्सिपल रामजी हमालले बोल्न चाहेनन् ।  

विधान विपरित संञ्चालन हुदै मनलाग्दो निर्णय प्याब्सन धनगढीले गर्दा त्यसको वोधार्थ प्याब्सन कैलालीलाई पठाएको छ । प्याब्सन कैलालीले पनि संस्थाको नियम अनुसार अगाडी बढ्नुपर्ने बताएको छ । प्याब्सन कैलालीका अध्यक्ष रेग्मीले भने सवै प्रक्रिया अनुसार सञ्चालन नहुँदा समस्या भएको छ । संस्थाको निर्णय चित्त नवुझेमा उजुरी गर्न पाउने प्रावधान भएकोले  जरिवाना तोकेको बताउँदै उनले पत्रको व्यहोरा नमिलेको स्वीकार गरेका छन् ।

विगतमा पनि भवन बनाउँदा पनि किताब लगाएको हो । ६ वटा स्कुलले लगाउन नमानेको हो । सहयोग गरेपछि जम्मा गरेको हो । प्रक्रियामा समस्या भएको हो । कारवाही गर्ने अधिकार भने नहुने भएकोले सिफारिस गर्न जिल्ला र केन्द्रमा पठाउनुपर्नेमा अवैधानिक भएको जानकारी दिए । प्याब्सनमा जुँगाको लडाईको समस्या भएको अध्यक्ष रेग्मीको भनाई छ । 

प्याब्सन सुदुरपश्चिमले भने यस वारेमा जानकारी नभएको जनाएको छ । प्रदेश अध्यक्ष सुरेन्द्र ओझाले यसवारेमा आधिकारिक जानकारी नभएको बताए । विधान अनुसार यस्तो निर्णय कडा भएको उनले बताए ।