 
 कोरोनाको सन्त्रासमा म घरभित्रै खुम्चिएका बेला 
हाम्रा सरकार अर्थात वडाध्यक्ष गाउँगाउँ घुमे
सर्वहाराको हितमा लडेर
माओवादी लडाकु कहलिएका 
’तुफान’ पनि उनीसँगै थिए  
उनीहरुको सुगा रटाइ ’सर्वहारा’ले 
मेरो घर पछाडिको
जुठे नेपालीको घर देखेन !
देख्यो त केवल चुनावमा भोट हाल्ने कार्यकर्ता मात्रै देख्यो 
 
 
 हो, स्थानीय चुनावमा जुठेको परिवार
रत्नागिरि गएको थियो
आँपको रखवाली गर्न  
घरमा ताल्चा ठोकेर वर्षभरिको सपना बुनेर  
आँपका दाना खसाल्दै गर्दा 
उसको गाउँमा भोट खस्दै थिए 
 चाहेर पनि उसले भोट खसाल्न आउन पाएन 
हो, त्यही चुनावमा गयल हुनुको सजाय 
अहिले उसले भोग्नुपर्यो 
यो भोकमरीको विशम अवस्थामा
 कोरोनाले थलिएको घडीमा  
सबैले राहत बुझ्दा 
अध्यक्षको गोजीको सूचीमा  उसको नामै भेटिएन  
कापीको पानामा उसको ठेगानै देखिएन
  
पाँच धुर ऐलानी जमिनमा रहेको टहरोबाट ऊ नियालीरहेछ
अहिलेसम्म उसको जमिनको डिलमा कसैले पाइला टेकेको छैन 
त्यसैले त ऊ मलाई सोध्छ– गोसाइँ ! ’मेरो राहत खै ?’
सरकारको सूचीमा मेरो नाम कहाँ छ ?
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
