टिंकरसम्म पुग्ने बाटो निर्माणका लागि ३० लाख दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय
 
daurchula

सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्ला, ब्यास गाउँपालिकाको टिङ्करसम्म नेपाली भूमि भएर पुगिने घोडेटो बाटो निर्माणका लागि स्थानीय तहलाई ३० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रि परिषद्को बैठकले सशर्त अनुदान तर्फको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । ब्यास गाउँपालिकाको छाङ्ग्रु, टिङ्कर लगायतका गाउँसम्म जान नेपालीले भारतको भूमि धार्चुला, सीतापुर हुँदै पुग्नुपर्ने अवस्था रहेको छ । 

पछिल्लो पटक कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण भारतको धार्चुला लगायतका ठाउँमा बाटो बन्द भएकाले ब्यास गाउँपालिका क्षेत्रका नेपाली सदरमुकाम खलङ्गामा नै रोकिनु परेको स्थानीय नरेन्द्रसिंह कार्कीले बताए । सो क्षेत्रमा नेपाली गाउँ बस्ती भएर आवागमन गर्ने घोडेटो बाटो नेपाल सरकारको सहकार्यमा निर्माण गर्ने निर्णय प्रदेश सरकारले गएको कात्तिक महिनामा नै गरेको थियो । भारतले पछिल्लो पटक दार्चुलाको नेपाली भूमि हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण थालेपछि यसको सर्वत्र विरोध भइरहेको छ । 

मन्त्रि परिषद्को बैठकले सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन(बजेट अधिवेशन) जेठ १३ गते दिउँसो २ बजे आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । यसैगरी प्रदेशको कानून सुधार तथा सुझाव समितिको कार्यविधि २०७६ लाई पनि बैठकले स्वीकृत गरेको प्रवक्ता शाहले जानकारी दिए । रासस