प्रदेश सरकार मौन, स्थानीय प्रशासन भन्छ– गन्तव्य पुगाउने व्यवस्था भए भारतमा अलपत्रको उद्धार गर्न तयार छौँ 
 
sima

भारतमा रहेका नेपालीहरुलाई तीन दिन सीमा नाका खोलेर उद्धार गरिएको भए पनि अन्य सीमा नाका पुगेकाहरुको उद्धार हुन सकेको छैन् । घर पुग्ने आशा सहित सीमा नाकामा नेपालीहरु आउने क्रम जारी रहँदा उनीहरुले नेपाल प्रवेश पाएका छैनन् । यस विषयमा प्रदेश सरकारले कुनै चासो देखाएको छैन् । तर स्थानीय प्रशासनले उद्धार गरिएका नेपालीहरुलाई उनीहरुको घरसम्म पुराउने व्यवस्था भए नेपाल ल्याउन तयार रहेको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय कैलालीले सीमा नाकाबाट गन्तव्य पुगाएर क्वारेन्टाईनमा राख्ने व्यवस्था भए भारतमा रहेका अलपत्र नेपालीको उद्धार गर्न कुनै समस्या नरहेको बताएको हो । दुई दिन पलिया र रामपुर क्वारेन्टाइनमा रहेका नेपालीको उद्धार गरिसकेको प्रशासनले सीमा नाकामा ¥यापिड टेस्टसंगै गन्तव्य पुगाएर क्वारेन्टाइनमा राख्ने व्यवस्था भए फेरी उद्धार गर्न तयार रहेको प्रशासनको भनाई छ । 

दुई दिन गौरीफन्टा नाकाबाट उद्धार भएपछि अहिले पलिया क्षेत्रमा मात्रै डेढ हजार बढि नेपालीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उद्धार गरेपछि सम्बन्धित पालिकासम्म पुगाउनका लागि प्रशासन एक्लैले नसक्ने भएकाले प्रदेश सरकार र स्थानीय सरकारको समन्वयको खाँचो रहेको बताए । उनले उद्धारमा भन्दा पनि सीमा वारि पुगिसकेपछि गन्तव्यमा पठाउन समस्या रहेको बताए । दुई दिनसम्म नौँ सय ५० जनाको उद्धार गरकोे प्रशासनले उनीहरुलाई गन्तव्यमा पठाउन निकै समस्या झेल्नु परेको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले व्यापारी र संघसंस्थाहरुसंग सहयोगका लागि याचना गरेपछि मात्रै उनीहरुलाई गन्तव्यसम्म पठाईएको बताए ।