कोरोना संक्रमित सुदूरपश्चिमका सांसद भन्छन्ः सरकारको प्रयास पुगेन, जनताले आफ्नो रक्षा आफैं गर्नुपर्छ
 
corona

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि पर्याप्त समय पाउँदा पनि सरकारले तयारी नगर्दा मुलुकमा दिनदिनै संक्रमण फैलिइरहेको यसबाट संक्रमित सांसदले बताएका छन् । कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका संघीय सांसद यज्ञराज बोगटीले सरकारी प्रयास पर्याप्त नभएकाले कोरोना विरुद्ध जनता आफैं सजग हुनुपर्ने बताएका हुन् ।

काठमाण्डौंको कीर्तिपुरमा रहेको आयुर्वेदिक अस्पतालमा स्थापना गरिएको आइसोलेसनमा रहेका कोरोना संक्रमित नेकपाका सांसद यज्ञ बोगटीले सरकारले गरिरहेका प्रयास पर्याप्त नभएको भन्दै उनले जनता आफैंले सचेत हुनुपर्ने बताए । ‘सरकारले लकडाउन गरेकै छ, अरु पनि गर्न खोजेकै छ । तैपनि संक्रमण वृद्धि भइरहेकै छ । सरकारले गरेका काम पर्याप्त नहुन पनि सक्छन् । जनताले आफ्नो रक्षा गर्ने हो,’ उनी भन्छन् ।

पछिल्लो समय सरकारले कोरोना संक्रमित पत्ता लगाउन पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिरहेको उनी बताउँछन् । सरकारले कोरोना परीक्षणको दर स्थिर राखेको र कन्ट्याक्ट ट्रेसिङ नगर्दा समुदायमा झनै कोरोना फैलिने सम्भावना रहेको उनको भनाइ छ । 
नेकपाका सांसद बोगटीले साउन ३० गते पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । नेकपाका महासचिव विष्णु पौडेलको सुरक्षामा खटिएका प्रहरीलाई कोरोना संक्रमण भएपछि बोगटी र उनका पिएले स्वाब दिएका थिए ।

उनका पिएको साउन ३१ गते नै पोजेटिभ रिपोर्ट आयो भने उनको तीन दिनपछि मात्रै संक्रमण भएको रिपोर्ट आएको थियो । तर, सांसद बोगटीको सम्पर्कमा आएका व्यक्तीहरूको परीक्षणमा भने ढिलाइ भएको छ । सांसद बोगटीका अनुसार उनको सम्पर्कमा आएका संसद सचिवालय र सिंहदरबारमा रहेका व्यक्तिहरूको छिट्टै परीक्षण गरिए पनि उनी बस्दै आएको टीकाथलीका स्थानीयको भने १० दिनपछि मात्रै स्वाब लिइएको थियो ।

‘म बस्दै आएको टीकाथलीमा १० दिनपछि कन्ट्रयाक्ट ट्रेसिङ भयो । मेरो कन्ट्रयाक्टमा आएका २ सय ३८ जनाको स्वाब लिइएको छ । सिंहदरबारमा र अन्य ठाउँमा भेटेका साथीहरू र सांसदहरूले भने गरिसकेका छन् भन्ने जानकारी पाएको छु । उहाँरूको रिपोर्ट नेगेटिभ आयो भन्ने छ,’ सांसद बोगटीले भने । 

सांसद बोगटी आयुर्वेद अस्पतालको आइसोलेसनमा रहेका छन् । सांसद बोगटीले स्वास्थ्यकर्मीले रोग प्रतिरोधात्मक क्षमता बढाउने भनेर आयुर्वेदिक औषधि दिएको र सोही लिइरहेको बताए । आफूमा कोरोनाको कुनै पनि लक्षण नभएको बताउने सांसद बोगटीले भने, ‘बिहान, दिउँसो र बेलुका तीन पटक आयुर्वेदिक औषधि दिइरहनुभएको छ । एक पटकमा दुई ट्याबलेट दिनुहुन्छ ।’

सांसद बोगटी व्यापक मात्रामा परीक्षण गर्ने, आवतजावत बन्द गर्ने र उपचार गर्नु नै कोरोना उन्मुलन गर्ने उपाय भएको बताउँछन् । ठूला सहरमा टोलपिच्छे र गाउँमा सम्भावित क्षेत्रमा व्यापक मात्रामा पीसीआर परीक्षण गर्नुपर्ने सरकारलाई उनको सुझाव छ । ‘एउटा परिवारको एक व्यक्तिमा परीक्षण गरौं । प्रत्येक टोल, वडामा कति व्यक्तिमा परीक्षण गर्ने हो त्यो निर्धारित गरेर परीक्षण गरौं । पोजेटिभ देखिएकालाई उपचार गरौं । नेगेटिभ देखिएकालाई पनि सुरक्षति रहन भनौं र सबै पोजेटिभ निको भइसकेपछि मात्रै खुला गरौं । त्यसरी नै अरु जिल्लामा पनि अभियान चलाउँ । यसो गरेमा देशलाई नै मुक्त गर्न सकिन्छ ।’ लकडाउन र निशेधाज्ञा लगाइराख्ने र परीक्षणको मात्रा नबढाउने हो भने कोरोना उन्मुलन गर्न नसकिने बरु झन् बढ्ने उनको आशंका छ ।