अट्वारीमा कोरोना प्रभावः छैन थारू गाउँमा चहलपहल
 
corona

हरेक वर्ष अट्वारीमा ब्रत बस्दै आएको गौरीगंगा–७, मट्कौनाका दानबहादुर जोगी थारू यो वर्ष भने शनिबारसम्म कुनै तयारीमै लागेनन् । कोरोनाका कारण कैलालीमा भएको निषेधाज्ञाले उनी यसपालि अट्वारी ब्रत नबस्ने सोचमा पुगेका हुन् ।  अट्वारी ब्रत सकेपछि दोस्रो दिन सोमबार बिहे भएकी दिदी बहिनीको घर अग्रासन (कोशेली) दिन जानुपर्छ ।

दिदीको घर टाढा रहेकाले निषेधाज्ञाले अग्रासन दिन जान नपाउने भएका कारण उनी यसवर्ष अट्वारीको ब्रत नबस्ने मनसायमा पुगेका हुन् । उनी मात्रै हैन यसपालि थारू समुदायका अधिकांश पुरुषहरु अट्वारी ब्रत नबस्ने भएका हुन् ।  अट्वारी ब्रत सकेपछि दोस्रो दिन सोमबार बिहे भएकी दिदी बहिनीको घर अग्रासन (कोशेली) दिन जानुपर्छ । दिदीको घर टाढा रहेकाले निषेधाज्ञाले अग्रासन दिन जान नपाउने भएका कारण उनी यसवर्ष अट्वारीको ब्रत नबस्ने मनसायमा पुगेका हुन् ।

हरेक वर्ष ब्रत बस्दै आएका आफूहरु यसपालि भने नबस्ने सोचमा रहेको बताउँदै दानबहादुरले भने,‘ब्रत त  बसौँला, तर दोस्रो दिन दिदीलाई अग्रासन दिन कसरी जाने ?, दिदी बहिनीले अग्रासन नपाउँदा त्यो ब्रतको फल नै पाइँदैन ।’ ब्रत बसेर मात्रै फल प्राप्त नहुने बताउँदै अर्का स्थानीय रेशम चौधरी भन्छन्,‘ब्रत त  बस्ने मन थियो, तर टाढा घर भएकी दिदीलाई अग्रासन दिन कसरी जाने भनेरै नबस्ने निधो गरेँ ।’

कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गते राति १२ बजेदेखि १४ गतेसम्म राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाकै कारण चेलीबेटीलाई अग्रासन दिन जान नपाइने भएपछि थारू समुदायको अट्वारी पर्व यसपालि खल्लो भएको उनले बताए ।   ‘अट्वारी पर्व यसपालि खल्लो भयो,’ उनले भने,‘बाँचेमा अर्को वर्ष अट्वारी मनाउँला, यसपालिलाई यस्तै भयो ।’

गाउँमै दिदी बहिनीको घर भएकाहरुले अट्वारी मनाउने भए पनि केहीले निषेधाज्ञाका कारण सामान किन्न नपाएकै कारण पनि अट्वारी पर्व यसपालिलाई नमनाउने सोचमा रहेको बताएका छन् ।  कैलाशपुरका भलमन्सा तुलराम जोगी थारूले भने,‘यसपालि निषेधाज्ञाका कारण दिदी बहिनीलाई अग्रासन दिन जान नपाइने भएका कारण धेरैले अट्वारी ब्रत नबस्ने भएका हुन् ।’ कोरोनाका कारण यसपालिको अट्वारी स्थगित भएको उनले बताए ।  

के हो अट्वारी ?  
भाद्र कृष्ण जन्माष्टमी अर्थात् थारू समुदायको ‘अष्टिमकी’पछिको दोस्रो आइतबार अर्थात् कुशे औँशीपछि पर्ने पहिलो आइतबारको दिनमा थारू समुदायले अट्वारी पर्व मनाउने गर्छन् ।  पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका थारू समुदायले भव्यताका साथ अट्वारी पर्व मनाउने गर्छन् ।  ‘अट्वारी’ पर्वमा थारु समुदायका पुरुषले मात्रै ब्रत बस्ने गर्छन् । प्राचीनकालमा दाङका थारु दंगीशरण राजा र पाँच पाण्डव मध्य भीमसँग सम्वन्धित छ अट्वारी पर्व ।

महाभारतका पाँच पाण्डवहरु र दाङका थारू राजा दंगीशरणबीच लामो समयदेखि घनिष्ट सम्बन्धरहेको थियो । यही क्रममा पाँच पाण्डव र द्रौपदी  सुर्खेतको काँक्रेविहारमा घुम्न आएका थिए ।  त्यही क्रममा दाङका थारू राजा दंगीशरणको राज्यमा शत्रुहरुले आक्रमण गरिरहेका खबर पाउने बित्तिक्कै तावामा पकाउन राखेको रोटी छाडेर भीम खाना र पानी समेत नखाई थारू राजा दंगीशरणको पक्षमा लड्न गए । भीमले दंगीशरणको पक्षमा लागेपछि शत्रुहरु हारेर भागेको कथासँग जोडिन्छ अट्वारी पर्व ।

कुशे औशीको पहिलो आइतबारका दिन उक्त घटना घटेको र सोही दिन शत्रु परास्त गरेका कारण थारू समुदाय आइतबारका दिन अट्वारी पर्व मनाउने गरेको थारू संस्कृति विद्हरु बताउँछन् ।  सो लडाइँमा भीमले भोक भोकै थारू राजा दंगीशरणको पक्षमा लडेर शत्रु परास्त गरेकाले थारू समुदायका पुरुषहरु भीम जस्तै बलियो बन्नका लागि अट्वारी पर्व मनाउँदै आएको थारू संस्कृति सम्बन्धी जानकारहरु बताउँछन् ।