कञ्चनपुरको खन्नेखोलामा बनाइएको बाँध बाढीका कारण भत्कियो
 
badi

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ चुरे क्षेत्र भएर बग्ने खन्नेखोलामा बनाइएको बाँध बाढीका कारण भत्किएको छ। केही दिनअघि खोलामा आएको बाढीले बाँध भत्काएको हो। बाँधको पश्चिम किनारा बाढीको पानीले कटान गरी बगाएको छ। महाकाली सिँचाइ आयोजना तेस्रो चरणले दुई वर्षअघि खन्नेखोलामा बनाएको बाँध बाढीका कारण ठाउँठाउँमा भत्किएको छ। केही स्थानमा बाँधका स्पर ग्राभेलले छोपिएका छन्।

“वर्षा रोकिएपछि बस्ती जोगियो, नत्र बगाउँथ्यो”, वडा नम्बर ३ का अध्यक्ष रामबहादुर जप्रेलले भने, “अझै पनि खोला बीचको ग्राभेल हटाइएन भने खतरा नै छ।” खन्नेखोलाको मुहानदेखि तल चाँदमारी पश्चिम क्षेत्रको बाँधमा बाढीको असर देखिएको छ। बाँध बनाउँदा नजिकका ढुङ्गा निकालिएको स्थानमा बाढी पानीले कटान गरेपछि बाँध भत्किएको छ। स्थानीयवासीका अनुसार बाढीले आधा दर्जन स्थानमा बाँधको ढुङ्गाको जाली भत्काएको छ।

तीनभन्दा बढी स्थानमा बाँधका स्पर भत्किएका छन्। स्थानीयवासीको अवरोधका कारण खन्नेखोलामा थुप्रिएको ग्राभेलले अहिले बाढी बस्तीमा पुग्ने देखिएको छ। स्थानीयवासीका अनुसार खोला बीचमा थुप्रिएको ग्राभेलले बाढी किनारमा पसेर कटान गरेको छ। “बाँध बनाउँदा पनि बीचको ढुङ्गा उठाइएन। त्यसपछि यहाँका बासिन्दाको अवरोधले ग्राभेल उठाउन पाइएको छैन”, स्थानीय कर्णबहादुर विष्टले भने, “त्यही ग्राभेल उठाउन नदिँदा अहिले बस्ती बग्ने अवस्थामा पुग्यो, धन्न जोगियो।”

खोलाको ग्राभेल व्यवस्थितरूपमा निकालेर बाँध किनारको कटानलाई रोकेर मात्रै बस्ती जोगिने विष्टले बताए। खन्नेखोलाको बाँध भत्किएर बाढी बस्तीमा पसेमा भीमदत्त नगरपालिकाका आधा वडाका बासिन्दा प्रभावित हुने भएका छन्। भीमदत्त नगरपालिकाका तिलकपुर, हल्दुखालसहित वडा नम्बर ६, १, ४, १८, १९ र १५ सम्म बाढीले क्षति पु¥याउने अनुमान गरिएको छ। तिलकपुर, राधाकृष्णटोल र हल्दुखालमा सबैभन्दा बढी क्षति हुने गरेको छ।

स्थानीयवासीका अनुसार विसं २०७० पछि खोलामा बाढी आउने गरेको छ। सात वर्षअघि बाढीले एक घर बगाएको थियो। राधाकृष्णटोलको २० बिघा जमिनमा बालुवा थुप्रिएको थियो। तिलकपुर र हल्दुखालका झण्डै तीन दर्जन परिवारले खन्नेखोलाका कारण जग्गा गुमाएका छन्। खन्नेखोलाको मुहान नजिक क्षेत्रमा निरन्तर झर्ने पहिरोले पनि खोलाको सतह बढ्दै गएको हो।

खोलाको सतह बढ्दै गएकाले ग्राभेल निकाल्नबाहेकको अरु विकल्प नभएको स्थानीय लोकराज जोशीले बताए। “ग्राभेल उठाउन दिँदैनन्, खोलाको सतह बढ्यो”, उहाँले भन्नुभयो, “अब बाढी रोक्न बीचमा ग्राभेल निकालेर खोलाको सतह घटाउनको कुनै विकल्प नै छैन।” स्थानीय तह निर्वाचनपछि दुई वर्षसम्म खोलाबाट ग्राभेल निकालिए पनि गत वर्ष अवरोध गरिएको थियो। वडाध्यक्ष जप्रेलले तिलकपुर–बैजनाथ विद्यालयसम्मको सडक कालोपत्रको काम पूरा नभएको भन्दै स्थानीयवासीले ग्राभेल उठाउन नदिएको बताए।

“त्यो सडक बनाइदिए ग्राभेल उठाउन दिन्छौँ भन्छन्, अब त्यो सडक बनाइदिनुप¥यो”, उनले भने, “खोलामा भने जसरी पनि ग्राभेल उठाउनुपर्छ।” नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बाँध जोगाउन, मर्मत गर्न र खोलाको बाढीबाट नजिकैका बस्तीमा क्षति हुन नदिनका लागि सङ्घ र प्रदेश सरकारसँग पहल गरिने बताए। थोरै रकमले बाँध मर्मत गर्न नसकिने भएकाले चाँडै माथिल्लो निकायमा सहयोगका लागि पहल गरिने उनले बताए।