सीमा क्षेत्रमा भारतीय दादागिरीः विरोधका वावजुद स्थानीयले लगाए तारवार
 
ssb

नेपाल तथा भारतका सुरक्षा अधिकारीबीच सीमाङ्कनको काम नसकिदासम्म विवादित क्षेत्रमा कुनै गतिविधि नगर्ने सहमति भएपनि स्थानीयले भने त्यसको विरोध गरेका छन् । ब्रह्मदेव स्थित विवादित क्षेत्रको निरीक्षण गर्दै दुबै देशमा सुरक्षा अधिकारीले सीमाङ्कन नहुँदासम्म कुनै किसिमको क्रियाकलप नगर्ने सहमति जनाए पनि स्थानीयले भने त्यसको विरोध गरेका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा वृक्षरोपण र सामुदायिक वनको जमिन घेरबारमा भारतीय पक्षले अवरोध सिर्जना गरेको छ । सिद्धनाथ सामुदायिक वनले गरिरहेको वृक्षरोपण र घेरबार गर्ने कार्यमा भारतीय पक्षले अवरोध सिर्जना गरेको हो । दादागिरी शैलीमा आएका भारतको सशस्त्र सीमा बल (एसएसबी) का जवानहरुले ब्रह्मदेव बजार नजिकै वृक्षरोपण र घेरबार गर्ने कार्यमा अवरोध गरेका सिद्धनाथ सामुदायिक वनका अध्यक्ष हर्कबहादुर चन्दले बताए । ‘आफ्नै भूमिमा तारबार र वृक्षरोपण गरिरहेका थियौँ, भारतीय पक्षले भारतीय भूमि भन्दै काम गर्न दिएको छैन’ उनले भने । एसएसबीले तारबार र वृक्षरोपण नगर्न चेतावनी दिए पनि स्थानीबासीको सहयोगमा आफूहरुले काम भने जारी राखेको उनले बताए । 

वनको ब्लक नम्बर–४ मा तारवारका लागि पोल गाड्ने क्रममा एसएसबीले हस्तक्षेप गरेपछि आक्रोसित बनेका स्थानीयले आफंैले तारवार गरेका थिए । उनीहरुले २०५५ सालमा पनि नेपाली पक्षले सो क्षेत्रमा तारबार गरेको भन्दै अहिले आएर रोक्न खोज्नु भारतीय पक्षको दादागिरी भएको बताएका छन् । उनीहरुले नेपाली भूमीमा भारतीय पक्षले हस्तक्षेप गरेको भन्दै वृक्षारोपण गर्ने समेत तयारी गरेका छन् । नेपाल भारत सीमास्तम्भ ९११ हराएको वर्षौ भएको छ ।

ब्रह्मदेव बजार नजिक पर्ने सो क्षेत्रमा वर्षेनी भारतीय पक्षले किचलो गर्दै आएको छ । नक्साङ्कनको काम नहुँदासम्म सो क्षेत्रलाई यथास्थितिमा राख्ने सहमति भएको सशस्त्र प्रहरीले जनाएको छ । भारतीय पक्षले सामुदायिक वनको घेरबार र वृक्षरोपणको काममा अवरोध सिर्जना गरेपछि स्थानीय प्रशासनले स्थलगत अनुगमन गर्दै भारतीय समकक्षीसँग छलफल समेत गरेको छ । सीमास्तम्भ नहुँदा ब्रह्मदेव क्षेत्रमा वर्षौदेखि सीमा विवाद रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका एसपी बिरसिंह साहुले बताए । ‘पिल्लर नहुँदा त्यहाँ विवाद छ । स्थानीयहरुले आफ्नो भूमि यतासम्म हो भन्छन् । भारतीय पक्षले यता (ब्रह्मदेव बजारतर्फ) आफ्नो भूमि भन्छन्, उनले भने । 

भारतीय पक्षले केही दिन अघि पनि जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–८ पचुईमा पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्माण कार्यमा अवरोध गरेको थियो । तर, स्थानीयले एसएसबीको सो कार्यको प्रतिवाद गरी सडक कालोपत्रे गरेका छन् ।