एनपिएल चाडपर्व जस्तो लागिरहेको छः विनोद भण्डारी
 
binod bhandari

नेपाल प्रिमियर लिग एनपिएल को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले आउँदै गरेको एनपिएल प्रतियोगिता चाडपर्व जस्तो लागिरहेको बताएका छन् ।


आसन्न एनपिएलका लागि  विनोदले सुदूरपश्चिम रोयल्सको क्रिकेट माहोललाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन् । ‘मलाई त साँच्चै भन्दा एनपिएल एउटा चाडपर्व जस्तो लागिरहेको छ । विगतका दिनमा पनि धेरै वटा फ्रेन्चाइज प्रतियोगिताहरु खेलियो । तर, यसपालि क्यान आफैंले आयोजना गरिरहेको र सातवटै प्रदेश समावेश भइरहँदा चाडपर्वको माहोल बनेको छ,’ विनोदले बताए, ‘सुदूरपश्चिमको आफ्नै भाषा छ, आफ्नै क्रिकेट छ । खेलाडीहरु सुदूरकै भाषामा बोलिरहेका हुन्छन् । सबैजना इन्जोय गरिरहेका छन् ।’

binod

अलराउन्डर दीपेन्द्र सिंह ऐरि मार्की खेलाडी रहेको सुदूरपश्चिमले टोलीमा आफ्ना प्रदेशका खेलाडीलाई प्राथमिकतामा राखेको छ । त्यस्तै मुख्य प्रशिक्षक जगत टमाटा पनि सुदूरपश्चिमकै हुन् । टोलीले ओलम्पियन दीपक विष्टलाई ब्रान्ड अम्बासडर बनाएको छ । विष्ट आफैं पनि सुदूरपश्चिमका हुन् ।

त्यस्तै विनोदले कागजमा सुदूरपश्चिम सन्तुलित टोली रहेको र सबै पक्षमा बलियो भएकाले मैदानमा राम्रो प्रदर्शनको आशा रहेको पनि बताए । ‘टोलीमा चार विदेशी अलराउन्डर आउँदैछन् । टोली सन्तुलित छ । त्यसैले मैदानमा राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु,’ विनोदले भने, ‘बलिङ र ब्याटिङ दुवै राम्रो छ । यही हाम्रो बलियो पक्ष हो । टोलीमा खासै सुधार गर्नुपर्ने पक्षहरु छैनन् ।’

सुदूरपश्चिमले एनपिएलका लागि स्कट्ल्यान्डका ब्रेन्डन म्याकमुलेन, इङ्ल्यान्डका सेइफ जयब, न्युजिल्यान्डका स्कट कुगुलेजीन र युएईका रोहन मुस्ताफालाई अनुबन्ध गरेको छ ।ब्याट्सम्यान आरिफ सेख र बलर अभिनास बोहोरा सुदूरपश्चिमका हेर्नलायक घरेलु खेलाडी हुन् । सुदूरपश्चिमको आइकनिक खेलाडीमा बसन्त खत्री छन् ।

सुदूरपश्चिमले मंसिर १८ गते विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।