 
कञ्चनपुरको वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गर्दै आएका छन्।
 
 डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गरेका हरिराम परिवारको मुख्य काम थियो। २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन थालेका हुन्। माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागेका छन्। उनले १० बिघा जमिनमै पोखरी निर्माण गरेर माछापालन विस्तार गरेका छन्।
२०७२ मा बुबा चन्द्रलालको निधन भएपछि व्यवसायको बिडो थाम्ने जिम्मा छोरा हरिरामको काँधमा आएको हो। बुबा जीवित हुँदा शिक्षण पेसासँगै माछापालनमा सघाइरहेका हरिराम बुबाको निधनपछि भने शिक्षण पेसा छाडेर पूर्ण रूपमा माछापालनमा सक्रिय भएका हुन्। छापालनबाट वार्षिक ३० लाख आम्दानी गर्ने गरेको हरिरामले बताए।
 
 धान र गहुँखेतीभन्दा पनि माछापालनमा राम्रो आन्दानी हुने गरेको उनले बताए। माछाको संख्याअनुसार आम्दानी हुन्छ। एक माछा एक किलोग्राम तौलको हुनका लागि एकदेखि सवा किलोग्रामसम्म दाना खपत हुने गरेको छ। १० बिघा जमिनमा रहेको पोखरीमा गरिएको माछापालनबाट वार्षिक सात–आठ सय क्वीन्टल माछा उत्पादन हुने गरेको हरिरामले बताए।
माछा स्थानीय बजारमै बिक्री गर्ने गरिन्छ। माछाको भुरा र दाना भारतबाट ल्याउने गरेको उनको भनाइ छ। हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिएका छन्। नेपालमा गुणस्तरीय भुरा र दाना नपाइने हुनाले महँगो मूल्यमा भारतबाट ल्याउनुपर्ने बाध्यता छ।
नेपाली बजारमा आउने भारतीय माछाका कारण पनि समस्या हुने गरेको उनले बताए। हरिरामले माछापालनकै आम्दानीले छोराछोरीलाई पढाउन सहयोग मिलेको छ। उनकी छोरी हाल चिकित्सा शिक्षा पढिरहेकी छन्। छोरी भूमिका कोहलपुर मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययरत छन्। छोरा काठमाडौँमा आर्टिफिसियल इन्टेलिजेसन ९एआई० अध्ययन गरिरहेको छ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
