चौथो भजहर कपः आयोजक ए र हिमालयन युवा क्लब सेमिफाईनल
2024/04/30, 6:26
 
dd

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भईरहेको चौथो भजहर कप फुटबल प्रतियोगितामा आयोजक श्री युवा जनहित क्लब ए र हिमालयन युवा क्लब विजयी भएका छन् । जित हात पार्दै दुबै टोली सेमिफाईनल पगेका छन् । 

थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको चौथो संस्करणको पहिलो खेलमा आयोजक श्री युवा जनहित क्लब ए ले पहिचान युवा क्लबलाई टाईब्रेकरमा पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरी भएपछि टाईब्रेकरमा आयोजक ए ले ४–३ ले हराएर अन्तिम चारमा पुगेको हो । 

2

श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको दोस्रो खेलमा हिमालयन युवा क्लबले आयोजक श्री युवा जनहित क्लब बी लाई फराकिलो अन्तरले हरायो । हिमालयनले आयोजक बी माथि ५–० को जित दर्ता गर्दै अन्तिम चारमा पुगेको छ ।  

पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ भईरहेको प्रतियोगिता वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए ।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।