 
नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट रोक्न एबीसी केबल जडान गरेको छ । बेलौरी नगरपालिका–९ कुण्डा स्वास्थ्य चौकी हुँदै माछापोखरीसम्म कभर कण्डक्टरसहितको तार जडान गरिएको प्राधिकरणको बेलौरी शाखाले जनाएको छ ।
 
 उक्त क्षेत्रसहित करिब २० किलोमिटर एबीसी केबल विस्तार गरिएको बताइएको छ । यसअघि विद्युत पोलमा जडान गरिने नांगो तारबाट हुने चुहावट रोक्न एबीसी टेबल जडान गरिएको प्राधिकरणको शाखा कार्यालयका प्रमुख टेकराज गिरीले बताए ।
“जंगल, बोटबिरुवा भएका क्षेत्रमा नांगो तार टांग्दा समस्या आउने गरेको छ’ उनले भने, ‘एबीसी केबल जडान गर्दा विद्युत चुहावट पनि रोकिने अपेक्षा गरेका छौँ ।” प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरीयाबाट केही क्षेत्रका लागि आएको उक्त नयाँ तार जडान गरिएको उनले जनाए ।
 
 स्थानीय राजाराम चौधरीले खल्लाकुण्डास्थित स्वास्थ्य चौकी नजिकको क्षेत्रमा विद्युत विस्तार नगरिँदा समस्या भएपछि विद्युत जडानको माग सहित २ वर्षअघि निवेदन दिएका बताए । उनले झण्डै विद्युत कार्यालयले आफूहरुका माग सम्बोधन गर्दै नयाँ प्रविधिको तार विस्तार गरेकोमा खुसी व्यक्त गरे ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
