पहिरो अपडेटः २० जनाभन्दा वढी पुरिएर वेपत्ता भएको आशंका, उद्धारका लागि घटनास्थल पुग्नै मुस्किल
 
pahiro

बझाङको केदार स्यू गाउँपालिका–८ मेल्लेखमा शुक्रबार राती गएको पहिरोका कारण १७ घर पहिरोमा पुरिएर २० जना वेपत्ता भएका छन् । गाउँपालिकाका उपाध्यक्ष निशा धामीले १७ घर पुरिएर कम्तिमा २० जना वेपत्ता भएको खबर आएको जानकारी दिईन् ।

विहानै ११ जना वेपत्ता भएको खबर आएकोमा अहिले यो संख्या थपिएको उनको भनाई छ । उनले पहिरोमा पुरिएर घाइते भएकाहरुको उद्धारका लागि हेलिकोप्टर मगाउन पहल भइरहेको बताए । एक सुरक्षाकर्मीहरुको टोली अगाडी गईसकेको र वाँकी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित आफुहरु घटनास्थलतिर लागिरहेको उपाध्यक्ष धामीले बताईन् । 

‘घटनास्थलसम्म पुग्न कम्तिमा ४ घण्टा लाग्छ’ उपाध्यक्ष धामीले भनिन्—‘स्वास्थयकर्मी, सुरक्षाकर्मी सहित गाउँपालिकाको टोली त्यसतर्फ लागिरहेका छौं । स्थानीयहरुसँग पनि सम्पर्क गर्दै अगाडी वढिरहेका छौं । वाटो खराब र पानी परिरहेकोले त्यहाँ पुग्न अझै धेरै समय लाग्छ । रातीको समयमा सवै जना घर भित्रै भएका कारण क्षति बढी भएको हुन सक्ने बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।