 
‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ असार १५ गते आयोजना हुने भएको छ । यसअघि असार ८ गते हुने भनिएको अवार्ड कार्यक्रम एक साता पछाडी सरेर असार १५ गते हुने भएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्राविधिक तयारीको काम केही बाँकी रहेकोले असार १५ गते धनगढीको ओम प्यालेसमा कार्यक्रम आयोजना हुने जनाएको छ ।
 
 चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
 ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । सह प्रायोजकमा नवजीवन कोअपरेटिभ्स लिमिटेड रहेको छ । अवार्डको बर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाईफटाईम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनीक एण्ड गरिमा डेन्टल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ । अवार्डको ट्रफी सुुदुरपश्चिम ११ स्पोर्टस क्लबले प्रायोजन गरेको छ भने भेन्यु पार्टनरको रुपमा ओम प्यालेस पार्टी प्यालेस रहेको छ । 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
