धनगढी पाठ्यक्रम छः पाठ्यपुस्तक छैन
 
dd

 धनगढी उपमहानगरपालिकाले तयार पारेको पाठ्यक्रम हो –‘हाम्रो धनगढी ।’ शैक्षिक सत्र २०८० देखि अनिवार्य लागु गर्ने गरि तयार भएको पाठयक्रमको पुस्तक विद्यालयहरुले पाउन सकेका छैनन् । ‘विद्यालयहरुमा शैक्षिक सत्र २०८० देखि लागु हुने गरी आधारभुत तह कक्षा १–८ को स्थानीय पाठ्यक्रम ‘हाम्रो धनगढी’ विद्यालयहरुले लागु गर्नु गराउनु हुन जानकारी गराइन्छ’ बैशाख ३ गते उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

शिक्षक मोहन भण्डारीले भने –‘उपमहानगरपालिकाले अहिले पाठ्यक्रम दिएको छ । पुस्तक दिएको छैन् । शैक्षिक सत्र शुरु भएको दुई महिना भइसक्दा समेत पाठ्यक्रममार्फत विद्यार्थीहरुलाई अध्यापन गराउनुपर्ने अवस्था छ ।’ उनले विद्यालयले कहिले पुस्तक पाउने भन्ने टुङ्गो नरहेको बताए ।

स्थानीय पाठ्यक्रमका आधारमा यस शैक्षिक सत्र देखि धनगढी उपमहानगरपालिकाले प्रश्नपत्र तयार गर्ने छ । शिक्षा अधिकृत अकवर चन्दले भने –‘अहिले पाठ्यक्रम तयार भइ विद्यालयमा बुझाएका छौं । त्यसैका आधारमा शिक्षकहरुलाई तालिम पनि भइरहेको छ । पुस्तक छपाइका क्रममा रहेकाले अर्को शैक्षिक सत्रदेखि लागु गर्ने गरि काम हुने छ ।’

उपमहानगरले बनाएको पाठ्यक्रममा स्थानीय संस्कृती, जनजीवन, भुगोललगायतका पक्षलाई समेटेको छ । स्थानीय पाठ्यक्रम निर्माण गर्दा कक्षा १ देखि ८ सम्मका बालबालिकालाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, तथा धार्मिक मठमन्दिरहरूबारे परिचित गराउने खालका विषय समावेश छन् ।

‘स्थानीय पाठ्यक्रममा भौगोलिक स्थिति, त्यहाँको वातावरण, वनस्पति, पशुपक्षी र तिनको संरक्षण ज्ञान र सीप दिने खालका विषयवस्तु समावेश गरिएको छ’ उनले भने –‘स्थानीय तहमा आइपर्ने आपत्विपत्को व्यवस्थापन र न्यूनीकरणमा जोड दिइन्छ ।’

‘विद्यार्थी जुन ठाउँमा हुर्केर बढेर अहिले पढ्दै छ, त्यस ठाउँबारे जान्नुप¥यो, त्यसको के महत्व छ थाहा दिनुप¥यो, अनि मात्र उसले आफ्नो ठाउँ चिन्छ । स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने कार्यमा स्थानीय शिक्षक नै सहभागी हुनु आवश्यक हुन्छ’ उनले भने । सो पाठ्यक्रम फागुन ३० गते बसेको कार्यपालिका बैठकबाट स्वीकृत भएको थियो । तर, उपमहानगरपालिकाले सो संग सम्बन्धित पुस्तक निर्माण नगर्दा धनगढीका विद्यालयहरु अन्यौलतामा रहेको गुनासो गरिरहेका छन् ।