सुदूरका स्वास्थ्यकर्मीः अग्रमोर्चामा खटिए, आफैं संक्रमित भए
 
korona

कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित परासन स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट जनक धामी कोरोना रोकथाम सम्बन्धी कार्यशालामा सहभागी हुन २० जेठ दिउँसो धनगढी आउँदै थिए । धनगढी पुग्नै लाग्दा उनले आफू पनि संक्रमित बनेको खबर फोनबाट पाए । सुरुमा उनी निकै आत्तिए । फेरि बिरामीको सेवा गर्दा गर्दै संक्रमित बनेकामा गर्व महसुस गरे र आत्मबल बलियो बनाए ।  उनी सीधै धनगढी स्थित सेती प्रादेशिक अस्पताल पुगे र आइसोलेसन वार्डमा बसे । आइसोलेसनमा रहँदा संसारभर बढ्दो संक्रमणका समाचारले डर पैदा गथ्र्यो । ‘तर, कोरोनाका लक्षण नदेखिएकाले छिटै निको हुन्छु भन्ने आत्मविश्वास थियो,’ उनी भन्छन्, ‘साथीभाइ र आफन्तबाट हौसला पाइरहेँ । कोरोना लाग्दैमा आत्तिनुपर्ने रहेनछ ।’

लकडाउनयता उनी नगरपालिकाभित्र क्वारेन्टाईनमा बसेर भारतबाट भित्रिएका नेपालीको स्वास्थ्य जाँचमा खटेका थिए । क्वारेन्टाइनमा बसेकाहरूको ज्वरो नाप्ने, आरडिटी परीक्षण र पिसिआरका लागि थ्रोट स्वाब संकलन गर्थे । ८ जेठमा पनि उनी यही काममा थिए । आरडिटी परीक्षण क्रममा सोही दिन आफूमा भाइरस सरेको धामीको अनुमान छ । ‘पिपिई थिएन, सीमाबाट क्वारेन्टाईनसम्म पु¥याउन टिपरको व्यवस्था गरेका थियौं,’ उनी भन्छन्, ‘तर, उनीहरू टिपरमा नजाने भन्दै विवाद गर्न थाले । मैले भीडलाई सम्झाएँ, त्यहीवेला संक्रमण भएको शंका छ ।’ पुनर्वासका ३३ जनाको त्यही भीडमा रहेका पाँच जनामा संक्रमण पुष्टि भएको थियो । १४ दिनपछि कोरोना जितेर धामी घर फर्के । थप १४ दिन होम क्वारेन्टाइनमा बसे । आईतबारदेखि काममा फर्किए । उनी कोरोना संक्रमण देखिएका सुदूरपश्चिम प्रदेशका पहिलो स्वास्थ्यकर्मी हुन् ।

कञ्चनपुरकै लालझाडी गाउँपालिका–२ शंकरपुर स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट श्याम राना चैत अन्तिम सातादेखि क्वारेन्टाइनमा बसेकाहरूको ज्वरो मापन, आरडिटी परीक्षण र स्वाब संकलनमा खटिएका थिए । उनले ज्वरो मापन, आरडिटी परीक्षण र स्वाब लिएका एक जनामा जेठ अन्तिम साता संक्रमण पुष्टि भयो । अन्य सात जनामा एन्टिबडी पोजिटिभ देखियो । संक्रमितको सम्पर्कमा आएकाले उनले पनि पिसिआर परीक्षण गराए । ३१ जेठमा उनको रिपोर्ट पोजिटिभ आयो । उनीसँगै अन्य १७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो, त्यस दिन । संक्रमण पुष्टि भएपछि होम क्वारेन्टाइनमै बसेका रानाको १० असारमा दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । ‘लकडाउनपछि स्वास्थ्य चौकीभन्दा क्वारेन्टाइनमा गएर बढी खटिनुप¥यो । कतिवेला संक्रमण भयो, पत्तै भएन,’ उनी भन्छन् । एउटा मात्र पिपिई पाइएकाले त्यसलाई धोएर पुनः प्रयोग गरेका थिए, उनले । उनका अनुसार वैशाख दोस्रो सातापछि पर्याप्त पिपिई उपलब्ध भएन ।

कोरोना संक्रमण देखिएका पुनर्वास नगरपालिकाको त्रिभुवन स्वास्थ्य चौकीका ल्याब ईन्चार्ज दुर्गादत्त भट्ट र सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डकी स्टाफ नर्स दुर्गा चौधरी पनि उपचारपछि घर फर्किएका छन् । भट्ट पनि क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ्य जाँचमा खटिएका थिए । स्टाफ नर्स चौधरी संक्रमितको प्रत्यक्ष सम्पर्कमा त गईनन्, तर आरडिटी पोजिटिभ देखिएका र शंकास्पद बिरामीलाई औषधी वितरण गर्थिन् । उनमा १ असारमा संक्रमण पुष्टि भएको थियो, ९ असारमा दोस्रो रिपोर्ट नेगेटिभ आयो । आइसोलेसनमा उपचाररत संक्रमितलाई सिसी क्यामेराबाट निगरानी गर्ने र टाढैबाट सल्लाह दिने गर्थिन् । अप्रत्यक्ष सम्पर्कबाटै आफू संक्रमित भएकामा उनलाई आश्चर्य लागेको छ ।

सुदूरपश्चिममा हालसम्म १५ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयहरूका अनुसार तीमध्ये चार जना निको भएर घर फर्केका छन् भने अन्य उपचाररत छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार सबैभन्दा बढी बाजुरामा सात स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । कञ्चनपुरमा पाँच, कैलालीमा दुई र डडेल्धुरामा एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । अधिकांश स्वास्थ्यकर्मीले सुरक्षा सामाग्री अभावमा जोखिम मोलेरै काम गरिरहेका छन् । स्वास्थ्य सामग्री लगाउने र फुकाल्ने सही तरिका अपनाउन नसक्दा पनि संक्रमणको जोखिम हुन सक्ने कार्कीको बुझाइ छ ।