महाकालीमा पूर्वसूचनाबिना भारतले ब्यारेज खोल्दा कञ्चनपुरमा जोखिम
 
महाकालीमा पूर्वसूचनाबिना भारतले ब्यारेज खोल्दा कञ्चनपुरमा जोखिम

कञ्चनपुर - सोमबार महाकाली नदीमा पूर्वसूचनाबिनै भारतले एक्कासी वनबासा ब्यारेज खोल्दा नदीमा फसेका ८ चालकसहित २० जना मजदुरको उद्धार गरियो । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला स्थित महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका उनीहरु वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव अचानक बढ्न गएर नदीको बीच भागमा डुबेका थिए।

कञ्चनपुरका प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले वनबासा व्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई उनीहरुको सकुसल उद्धार गरिएको बताए। कारण नेपाली प्रशासनलाई कुनै जानकारी नदिइ भारतीय पक्षले एक पक्षीय ढंगले ब्यारेजको ढोका खोलेको पाइएको हो। कञ्चनपुरको वेदकोट नगरपालिका–१० सिसैयाका नरेन्द्र जोशी सोमबार बिहानै ट्र्याक्टर लिएर महाकाली पुगे । करिब ८ बजेतिर ट्र्याक्टर महाकालीको एउटा भँगालोको बीचमा पुगेको थियो । एक्कासि नदीमा पानीको सतह बढ्यो । उनलाई न अगाडि बढ्न सकिने न फर्किन सकिने अवस्था भयो । हेर्दाहेर्दै ट्र्याक्टर पूरै पानीमा डुब्न थाल्यो । चालक र मजदुरले ट्र्याक्टरमाथि चढेर ज्यान जोगाए । पानीको सतह झन्–झन् बढिरहेको थियो। पानीको वेगले ट्र्याक्टर पल्टिने जोखिम भइरहँदा सुरक्षाकर्मी पुगेर समन्वय गरेपछि भारतको उत्तराखण्डमा पर्ने शारदा ब्यारेजले केही मात्रामा पानी घटायो । कामदारको ज्यान जोगियो ।

सोमबार बिहान महाकाली नदीको भुजेला घाटमा पूर्वसूचनाबिना एक्कासि पानी छाडिँदा यस्तै पीडा भयो । शारदा ब्यारेजबाट पूर्वपट्टिको ढोका खोलिँदा केही कामदारसँगै नदीजन्य निर्माण सामग्री ढुवानी गर्ने ट्र्याक्टर र टिपरहरू नदीको बीच भागमै अड्किए। कतिपय बिग्रिए, कतिपय जेनतेन नदी तारिए । नरेन्द्र जोशीले यो पहिलो पटक भएको नभएको बताएँदै नदीमा धेरै ढुवानी साधन देखेपछि भारतले ब्यारेजका ढोका एक्कासि खोलिदिने गरेको बताए। हरेक वर्ष पटकपटक हामीले यस्तै दुःख खेपिरहेकोउनको भनाई छ। उनले महाकालीमा अचानक पानी छाडिँदा ८ वटा ट्र्याक्टर बीच भँगालोमै डुबेको र ट्याक्टरसँगै चालक र कामदारलाई पानी घटेपछि निकालिएको बताए । हिउँदमा महाकालीमा पानीको सतह कम हुन्छ। शारदा ब्यारेजका ढोकामा खर तथा अन्य सामग्री राखेर पानी रोकिन्छ । ब्यारेजमा जम्मा पारिएको पानी नहर हुँदै लोहियाहेड पावर स्टेसन र उत्तर प्रदेशमा सिँचाइका लागि लगिन्छ ।

ब्यारेजमा कार्यरत कर्मचारीले तल्लो तटीय क्षेत्रमा निर्माण सामग्री ढुवानीका साधन फसेको वा बढी चलेको देखेमा एकाएक ढोका खोलेर दुःख दिने गरेका छन् । यसअघि पनि महाकाली नदी किनारमा तटबन्ध निर्माणका बेला एकाएक ढोका खोलिँदा निर्माण कार्य नै प्रभावित भएको थियो। पूर्वसूचनाबिना अनियन्त्रित रूपमा ढोका खोलिँदा महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम पनि पटकपटक प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले कुनै सूचना नदिई पानी छाड्दा केही समस्या र क्षति भएको बताए।

सीमा क्षेत्रका सुरक्षा निकायका प्रमुखको बैठकमा पटकपटक यो विषयमा पनि कुरा उठ्ने गरेको बताए । तर उत्तराखण्डमा पर्ने शारदा ब्यारेजको नियन्त्रण उत्तर प्रदेश सरकारमातहत भएका कारण समन्वयमा समस्या हुने गरेको भारतीय सुरक्षा निकायका प्रमुखको गुनासो रहेको उनले बताए । हिउँदमा मात्रै होइन, बर्खाका बेला पनि बाढी आउँदा पूर्वसूचनाको अभाव र नेपालतर्फकै ढोका खोलेर बढी क्षति हुने गरेको गुनासो पटकपटक उठ्ने गरेको छ । २०७० मा महाकालीको बाढीले भुजेला क्षेत्रमा ठूलो क्षति पु¥याएको थियो । त्यतिबेला शारदा ब्यारेजका कर्मचारीले पूर्व र पश्चिमका ढोका मात्रै खोलेको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सोमबारको घटनाका विषयमा सीमावर्ती क्षेत्रका डीएमसँग छलफल गरिने बताए । उनले काउन्टर पार्टको बैठकमा पछिल्लो पटक यो विषय नउठेका कारण आफूले जानकारी नपाएको बताए ।