सुदूरपश्चिम बेसारमा आत्मनिर्भरः एक बर्षमा १८४७७ मेट्रिक टन उत्पादन, २५ मेट्रिक टन मात्रै आयात
 
beshar

अघिल्लो बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिए । बेसार किन खाने बेसारका फाईदा के–के छन जस्ता विषयमा प्रधानमन्त्रीले लामो टीप्पणी गरेपछि सोही विषयलाई लिएर सामाजिक सञ्चाल तातेको छ । बेसार औषधीय गुणले भरिएको प्रकृतिक तत्व भएकोमा शंका नरहेपनि यसबाट कोरोना निको हुने कुनै वैज्ञनिक प्रमाण अहिलेसम्म भेटिएको छैन् । प्रधानमन्त्रीको बेसार मन्तव्यलाई लिएर सर्मथन र बिरोधमा चौतर्फी आलोचना र प्रशंसा चलिरहेको छ ।
बेसार जिन्जिबेरसी  परिवारको एक कन्दमूल हो । यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो । बेसारको गानोमा पाईने तत्व (पहेँलो रंगको) कुरकुमिन हो । अहिले निकै चर्चाको रहेको बेसारको सुदूरपश्चिममा उत्पादन र बजारबारे यहाँ चर्चा गर्न गईरहेका छौँ ।

बजारमा बेसार
बजारमा बेसारको मुल्य प्रतिकिलो मूल्य तीन सयदेखि पाँच सय रुपैयाँ रहेको छ । थोकमा बेसारको मूल्य गुणस्तर हेरेर दुई ५० देखि तीन सय रुपैयाँसम्म पर्न जाने धनगढीको कामना मसाल उद्योगका प्रबन्धक युवा व्यवसायी पंकज देउवाले बताए । उनका अनुसार यतै उत्पादन भएको वेसारले अहिलेसम्म धानिरहेको छ । सुदुरपश्चिममा उत्पादन भएको वेसारबाट मसलाजन्य उत्पादनहरु भईरहेका छन् । 

सुदुरपश्चिममा बेसार खेतीको स्थिति
सुदुरपश्चिममा वेसार खेती विस्तार हुदै गएको छ । रोपाइँ गरेको ९ महिनापछि बेसारको फसल प्रयोग योग्य रहन्छ । नेपालको हावापानी अनुसार औसत एक रोपनीमा दुई देखि साढे दुई मेटिक टन काँचो बेसार उत्पादन गर्न सकिने एक अध्ययनमा देखिएको छ । सुदुरपश्चिममा १८ हजार चार सय ७७ मेट्रिक टन वेसार उत्पादन हुने गरेको छ । सुदुरपश्चिममा बेसार मसलाबालीको खेती एक हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सुदुरपश्चिम कृषि निर्देशनालयको तथ्यांक छ । कैलालीमा सवैभन्दा वढी ९ सय २५ क्षेत्रफलमा र डडेल्धुरामा सवैभन्दा कम ३० हेक्टर क्षेत्रफलमा वेसार खेती गर्ने गरिएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए । 
उनका अनुसार कैलालीपछि कञ्चनपुरमा एक सय ७४ हेक्टर क्षेत्रफलमा वेसार खेती गरिन्छ । दार्चुला पनि कम वेसार खेती हुने जिल्लामा पर्छ । त्यहाँ ३३ हेक्टर क्षेत्रफलमा वेसार खेती हुन्छ । वैतडी, वझांग, डोटी, अछाम र वाजुरामा ४५ देखि ७५ हेक्टर क्षेत्रफलमा वेसनर खेती हुने निर्देशक जोशीले बताए । 

वेसार खेतीको सम्भावना
सुदुरपश्चिममा वेसार खेतीको प्रवल सम्भावना रहेको कृषि निर्देशक जोशी बताउँछन् । उनका अनुसार यसक्षेत्रको हावापानी, माटो वेसार खेतीका लागि उपयुक्त रहेको छ । विभिन्न आयोजना मार्फत अनुदान दिईन थालेपछि वेसार खेती बार्षिक रुपमा वृद्धि हुदै गएको छ । यसमा कुनै पनि रोग नलाग्ने र उवडखावड जमीनमा पनि खेती गर्न सकिने भएकोले यसको सम्भावना राम्रो रहेको छ । यसको बजार पनि प्रशस्त भएकोले राम्रो मुल्य पाउने अवस्था रहेको कृषि निर्देशक जोशीको भनाई छ । 

हावापानी
बेसार खेती गर्मी र आद्र हावापानीमा राम्रो हुने भएता पनि हलुका छायाँ भएको ठाँउमा पनि यो विरुवाको वृद्वि विकास सफलतापुर्वक हुन सक्छ । वेसार खेती समुन्द्र सतहदेखि १६०० मिटरसम्मको उचाईमा गर्न सकिन्छ । यसको सफल खेतीका लागि २०–३० डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ । औषत वार्षिक वर्षा १०००–२००० मिलीमिटर हुने क्षेत्रमा विना सिंचाई पनि वेसार खेती सफलतापुर्वक गर्न सकिन्छ । धेरै चिसो र तुषारोले यो वालीलाई नोक्सान गर्दछ ।

माटो
बेसार खेतीको लागि प्रशस्त प्राङ्गारिक मल भएको, पानीको निकासको राम्रो व्यवस्था भएको, पानी नजम्ने हलुका फोक्रो र दुमट माटो उत्तम मानिन्छ । पानीको उचित निकास नभएको ठाउँमा वेसारलाई ड्याङ वनाएर लगाउनु पर्छ । थोरै अम्लिएपना भएको माटो वेसार खेतीको लागि उपयुक्त मानिन्छ भने वढी क्षारयुक्त माटो वेसारको लागि राम्रो मानिदैन । वेसार खेतीको लागि माटोको पि.एच. ५.५– ६.५ उपयुक्त हुन्छ ।

२५ मेट्रिक टन बेसार आयात
नेपालमा चालु आर्थिक बर्षको १० महिनामा २८ करोडको वेसार आयात हुँदा सुदुरपश्चिममा आधा करोड वढीको वेसार आयात भएको छ । देशका अन्य भन्सार नाकाभन्दा कम मात्रामा सामान आयात हुने सुदुरपश्चिमको नाकाबाट चालु आर्थिक बर्षको हालसम्म झण्डै ५५ लाख वढीको वेसार भारतबाट ल्याईएको हो । सुदुरपश्चिममा चालु आर्थिक वर्षको १० महिनामा आधा करोड बढीको बेसार आयात गरेको भन्सार विभागले जनाएको छ । भन्सार विभागले दिएको विवरण अनुसार सुदुरपश्चिममा १० महिनाको अवधिमा ५४ लाख ९३ हजार ८९० रुपैयाको वेसार आयात भएको छ । सुदुरपश्चिमका दुई नाका नित्रगर र गड्डाचौकी भएपनि वेसार भने त्रिनगर नाका भएर मात्रै वेसार आयात भएको छ । कैलालीको त्रिनगर भन्सार भएर चालु आर्थिक बर्षमा झण्डै ५५ लाखको वेसार आयात भएको प्रमुख भन्सार अधिकृत ईश्वर अर्यालले जानकारी गराए । ‘यो नाका भएर निकै कम मात्रामा मात्रै वेसार आउने गरेको छ । वेसारबाट हामीले चालु आर्थिक बर्षमा ५ लाख २५ हजार एक सय ९३ रुपैयाँ राजश्व प्राप्त गरेका छौं ।’ भन्सार अधिकृत अर्यालले भने– ‘यो नाकाबाट तयार पारिरएको वेसारको धुलो हो आउने भनेको । हालसम्म २४ हजार सात सय ४४ किलो वेसार भित्र्याईएको छ ।’ आयात भएको वेसा २४ दशमलव ८ मेटिक टन आयात भएको हो । यो भने सुदुरपश्चिममा उत्पादन हुने बेसारको ०.२ प्रतिशत मात्रै हो । 

कञ्चनपुरको गड्डाचौकी नाका भएर भने वेसार नै आयात भएको छैन र भन्सारबाट आयात हुने सवै चिजहरुको कम्प्युटर प्रणालीमा चढाउने गरिएको छ । भन्सार विभागले नियन्त्रण गर्ने सो प्रणालीमा गड्डाचौकीबाट एक रुपैयाँको पनि वेसार आयात नभएको देखिएको प्रमुख भन्सार अधिकृत नहकुल शर्माले जानकारी दिए । ‘हाम्रो नाकाबाट वेसार आउने तथ्यांक नै छैन् । सानो तिनो पनि व्यवसायिक प्रयोजनको लागि ल्याएको देखिएन् ।’ भन्सार अधिकृत शर्माले भने । कैलालीको त्रिनगर भन्सार नाकाबाट चालु आर्थिक बर्षमा आयात भएको वेसार अघिल्लो आर्थिक बर्षको भन्दा दोब्बर हो । अघिल्लो आर्थिक बर्षमा २६ लाख चार हजार दुई सय पाँच रुपैयाँको वेसार आयात भएको थियो । 

सुदुरपश्चिममा १८ हजार चार सय ७७ मेट्रिक टन वेसार उत्पादन हुने गरेको छ । सुदुरपश्चिममा बेसार मसलाबालीको खेती एक हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सुदुरपश्चिम कृषि निर्देशनालयको तथ्यांक छ । कैलालीमा सवैभन्दा वढी ९ सय २५ क्षेत्रफलमा र डडेल्धुरामा सवैभन्दा कम ३० हेक्टर क्षेत्रफलमा वेसार खेती गर्ने गरिएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार कैलालीपछि कञ्चनपुरमा एक सय ७४ हेक्टर क्षेत्रफलमा वेसार खेती गरिन्छ । दार्चुला पनि कम वेसार खेती हुने जिल्लामा पर्छ । त्यहाँ ३३ हेक्टर क्षेत्रफलमा वेसार खेती हुन्छ । वैतडी, वझांग, डोटी, अछाम र वाजुरामा ४५ देखि ७५ हेक्टर क्षेत्रफलमा वेसार खेती हुने निर्देशक जोशीले बताए ।