 
सुदूरपश्चिममा वुधवार मात्रै दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विर अस्पतालको प्रयोगशाला र धनगढी प्रयोगशाला मार्फत भएको परीक्षणमा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी संक्रमित फेला परेका हुन् ।
 
 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा कञ्चनपुरका १६ महिला र ६९ पुरुष सहित ८५ जना, कैलालीमा ९ महिला र ३९ पुरुष सहित ४८ जना, डोटीमा १० महिला र ३८ पुरुष गरी ४८ जना, अछामका १० पुरुष, बाजुराका सात पुरुष र बैतडीका एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उनका अनुसार अछामका एक महिला र १३ पुरुष गरी थप १४ जनामा विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट कोरोना पुष्टि भएको छ ।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार पाँच सय ४९ पुगेको छ ।
 
 
 अहिलेसम्म सबैभन्दा बढी कैलालीका पाँच सय ८, डडेल्धुरामा दुई सय पाँच, बैतडीमा एक सय ६०, डोटीमा दुई सय नौँ, कञ्चनपुरमा एक सय ९४, अछामका एक सय १२, बाजुराका एक सय, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ७५ जना निको भएर घर फर्किसकेका छन् ।
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
