विनोद शाहीको मृत्यु प्रकरणः अछाम सदरमुकाम तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर
 
dd

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन  सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीयबासिन्दा आन्दोलित भएका छन् ।

उनीहरुले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेनमा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी नारायण डाँगीले अभियुक्तलाई अदालत पेश गर्ने तयारी भइरहेका बेला नाराबाजी गर्दै स्थानीयबासिन्दाले सरकारी वकिलको कार्यालय र जिल्ला अदालत घेराउ गर्न खोजेपछि बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिइएको बताए ।

‘उहाँहरुले सम्मानित अदालत र सरकारी वकिल कार्यालय घेराउ गर्न खोजेपछि तनाव सिर्जना भएको हो,’ डाँगीले  भने, ‘हामीले स्थिती नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास र हवाइ फायर गरेका छौँ ।’ त्यसक्रममा केही घाइते भएका छन् ।

पीडित पक्षले सरकारी वकिल कौशल ढुङ्गानाले मुद्दा अदालतसम्म नपुयाउन दबाब दिएको आरोप लगाएको छ । तर ढुङ्गानाले आरोप अस्वीकार गरेका छन् । गत जेठमा घरबाट हराएको ५ दिन पछि शाही नजिकै मृत फेला परेका थिए ।

शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ ।