 
कैलालीको अत्तरियामा सुदूरपश्चिमकै ठूलो धनराशीको खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। गोदावरी–३ मा रहेको रोयल युवा क्लबको आयोजनामा कार्तिक १५ देखि १८ गतेसम्म प्रतियोगिता हुने भएको हो।बुधबार आयोजकले अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो। खुल्लातर्फ प्रथमा हुनेले नगद ५१ हजार प्राप्त गर्ने छ। त्यस्तै दोस्रो हुनेले नगद २५ हजार पाउने छन् भने, तेस्रो हुने ११ हजार पाउने छन्।
 
 प्रतियोगिताका संयोजक दिपेन्द्र अवस्थीका अनुसार भेट्रानतर्फ प्रथमा हुनेले नगद २१ हजार पाउने छन्। त्यस्तै दोस्रो हुनेले ११ हजार र तेस्रो हुनेले नगद ५१०० सय पाउने छन्। भेट्रानमा ४० वर्ष माथिकाले मात्रै सहभागिता जनाउने पाउने छन्। उनीहरुले उमेर खुल्ने प्रमाण पत्र पनि पेश गर्नुपर्ने छ।
आयोजकले टिम दर्ताको लागि खुल्लातर्फ दुई हजार एक सय र भेट्रान तर्फ १५ सय शुल्क तिर्नुपर्ने नियम बनाएको छ। टिम दर्ता कार्तिक १४ गतेसम्म गरिसक्नुपर्ने संयोजक अवस्थीले पत्रकार सम्मेलनमा जानकारी गराए।
 
 खेलको उदघाटन गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँद गर्ने कार्यक्रम तय भएको अयोजकले बताएको छ। प्रतियोगितामा सुदूरपश्चिमका सबै जिल्लाहरुबाट झन्डै ६० टिमको सहभागिता रहने अनुमान गरिएको आयोजक क्लबका सदस्य देवराज भट्टले बताए। खेल गोदावरी नगरपालिका २ मा रहेको नमस्ते फुडल्याण्डको खेल मैदानमा हुने छ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
