संसदबाट बाहिरिएलगत्तै सरिता गिरीको चेतावनी– नबिर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो
 
sarita giri

संविधान संशोधनको विषयमा आफुले राखेको प्रस्तावलाई प्रतिनिधिसभाले अस्वीकृत गरेपछि बाहिरिएकी सांसद गिरीले आफुले आफ्नो धारणा संसदमा राख्न नपाएको भन्दै आफुमाथि जातिय विभेद राखेर आक्रमण गरिएको बताइन् । उनले एकजना महिलाले उठाएको आवाजलाई राष्ट्रियताको नाउँमा अस्वीकृत गर्ने र आक्रमण हुने प्रवृतिले बंगलादेशमा जस्तै महिला जागृत हुने चेतावनी दिइन् ।

उनले भनिन्– ‘यो राष्ट्रियताका नाउँमा एकजना महिला सांसदमाथि जुन व्यवहार भइराखेको छ, यदि यसलाई तपाइहरुले चेक गर्नुभएन भने अनि नबिर्सनुहोस् बंगलादेशको निर्माण कसरी भएको थियो । बंगलादेशको निर्माण महिलाहरुले गरेका हुन् किनभने त्यहाँ पाकिस्तानी सेनाहरुले बलात्कार गरिरहेका थिए । बोर्सनिया, हर्जगोभिना सबै । जव जातिय भावनामा राष्ट्रियता ल्याईकन कुनै असहमत पक्षलाई आक्रमण गरिन्छ यदि त्यसामा हामी बेलामै सचेत भएनौं भने यसको परिणाम मूलुकको राष्ट्रिय एकताका लागि र मुलुकको राष्ट्रियताको लागि हुँदैन् ।’ सांसद गिरीले आफुले संविधान संशोधनका विषयमा संसदमा कुरा उठाएदेखि नै सर्वत्र विरोध र आक्रमण भइराखेको समेत बताइन् । आफुले संविधान संशोधनका क्रममा भएको कमजोरी राखेपछि आत्महत्या गर्ने या जंगको मैदानमा उत्रनुपर्ने दुई विकल्प मात्रै रहेको र आफु महिलाको सेल्फ डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर लागेको समेत बताइन् ।

सांसद गिरीले आफुले कुन विचार र मनसायको आधारमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेको भन्ने जानकारी संसदलाई गराउन नपाएको समेत बताइन् । उनले निशान छापमा नेपालको वास्तविक नक्सा परिवर्तन गर्ने विषयको विपक्षमा नभई संविधान संशोधन गर्नुको आधार र कारण नखुलाइएकाले प्रस्ताव दर्ता गरेको बताइन् । उनले संविधनमा नक्सा परिवर्तन गर्दा १८१६ को सन्धिलाई आधार मानिएको छ भने उक्त सन्धिमा मधेसमा रहेका नागरिकलाई भेदभाव गर्न पाइनेछैन भन्ने उल्लेख भएकाले उक्त जानकारी संसदलाई गराउन मात्र खोजेको दावी गरिन् । उनले १८१६ को सन्धिअनुसार नक्सा संशोधन हुन्छ भने सोही सन्धिअनुसार नै तराई मधेससँग भइरहेको विभेद र त्यहाँको समस्यालाई समेत उठाउनुपर्ने बताइन् ।