सुदूरपश्चिममा एमालेलाई एकीकृत समाजवादीको धक्का– भीम रावलले आफ्नैलाई जोगाउन सकेनन्
 
corona

गत चैत्र १५ गते सम्पन्न नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो तर, भीम रावलको असहमतिपछि एमाले सरकारबाट बाहिरिएन । बरु सरकार पुनर्गठनमा एमालेले थप भाग पायो ।

जेठ १० गते बसेको स्थायी कमिटी बैठकले पनि प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, केन्द्रको निर्देशन अवज्ञा गर्दै २५ जेठमा एमालेका १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिए ।  सभामुखसहित एमालेका २५ सांसदमध्ये त्यो बेलासम्म रावल/नेपाल पक्षमा १७ सांसद खुलेका थिए । ओली पक्षमा भने ७ जना मात्रै थिए ।

सुदूरपश्चिम प्रदेशमा एमाले भित्र माधव नेपालका कारण भीम रावल बलिया भएका हुन् कि भीम रावलका कारण माधव नेपाल भन्ने बिषय चर्चामा थियो । तर, अहिले रावल एमालेमै रहने भएपनि उनी निकटकै व्यक्तिहरूले साथ छोडेका छन् ।

सुदूरपश्चिमको एमाले राजनीतिमा भीम रावल फ्याक्टर र प्रेम आले फ्याक्टरले काम गर्छ । रावल माधव नेपालसँग हुँदा आले ओलीतिर लागे । आलेले नेकपा विभाजनको बेला सुदूरपश्चिको ठूलो शक्ति ओलीतिर पारेका थिए ।

तर पछिल्लो समय आले ओली छाडेर माधव नेपालतिर लागे । ओलीतिरका मान्छे त यथावत रहे तर भीम रावल जो प्रदेशसभा र प्रदेश कमिटीमा सबैभन्दा शक्तिसाली थिए उनी एमालेमै रहँदा त्यो शक्ति आफूसँग राख्न सकेनन् । संघीय सांसदमा उनी र झपट रावलमात्र माधव नेपाल छाडेर एमालेमा रहे अरु पहिले नै ओलीसँग थिए ।

क–कसले छोडे साथ  ?

शेरबहादुर कुँवर

रावलको गृह जिल्ला अछाम हो । रावल एमाले सुदूरपश्चिम प्रदेश संयोजक हुँदा अछाम जिल्ला अध्यक्ष रहेका शेरबहादुर कुँवरलाई रावलको विश्वास पात्रको रुपमा लिने गरिएको थियो ।  उनी अन्तिम समयसम्म रावलको साथमा थिए । ओली पक्षले नेपाल समूहलाई साथ दिएको भन्दै उनलाई जिल्ला अध्यक्षको जिम्मेवारीबाट समेत हटाएको थियो ।

रावलकै जोड बलमा उनलाई राष्ट्रियसभा सदस्यमा निर्वाचित गराइएको थियो । तर, आज उनी रावलको साथमा छैनन् । माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा उनले सनाखत गरेका छन् ।

कुँवरलाई अछाममा बलियो जनाधार भएको नेताको रुपमा चिनिन्छ । २०६४ सालमा सुदूरपश्चिम प्रदेशबाट एमालेका तीन नेता मात्रै प्रत्यक्ष निर्वाचित भएका थिए । तीमध्ये एक हुन् कुँवर ।  बलियो जनाधार भएका आफ्नै नेताले साथ छोडेपछि जिल्लामै रावल कमजोर भएको विश्लेषण गरिएको छ ।

दीर्घ सोडारी

सुदूरपश्चिम प्रदेशसभामा एमाले संसदीय दलको नेता प्रकाश शाह भएपनि सोडारीको पक्षमा धेरै सांसद रहेको बताइन्छ । संसदीय निर्वाचनमा एमाले कैलालीका अध्यक्ष रहेका सोडारीले आफूनिकटका व्यक्तिहरुलाई टिकट दिएको र उनीहरु निर्वाचित भएपछि सोडारी थप बलिया भएका हुन् ।

सामाजिक विकासमन्त्री भएका बेला उनलाई कारबाही गरिएको थियो । पार्टी अध्यक्षबाट कारवाही भोगेका उनी सधैं बलियो नै रहे । नेपाल पक्षको भेलाले कारवाही फुकुवा गरे पनि एमालेले अझै उनको कारबाही फुकुवा गरेको छैन । तर, उनी दोस्रोपटक भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भए । रावलनिकट रहेका सोडारी अहिले नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।

बुधबार कैलालीको सुखड र मसुरियामा आयोजित कार्यक्रममा ओलीको अतिवादीको विरुद्धमा उभिएर नयाँ पार्टीमा लाग्न उनले आग्रह गरेका थिए ।सो कार्यक्रममा कैलाली प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य अमर साउद र अछामबाट निर्वाचित बलबहादुर सोडारी पनि सहभागी थिए । उनीहरु दुवैले एमालेको साथ छोडेको बताइएको छ ।

सोडारीसहित सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले पनि रावलको साथ छोडेका छन् । उनी कञ्चनपुर एमालेका अध्यक्ष थिए । जेठ २ मा फर्किँदा उनी जिल्ला अध्यक्ष हुन् ।  प्रदेश सरकारको प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्व उद्योग वन तथा वन तथा वातावरणमन्त्री माया भट्ट नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य भएका छन् ।  भट्ट रावलनिकट हुन् भने जोशी घनश्याम भुसाल निकट हुन् ।

२४ चैत्रमा सुदूरपश्चिममा रावलले आप्mनो संयोजकत्वमा समानान्तर समिति तयार गरेका थिए । त्यसमा कैलालीको अध्यक्ष बनाइएका दीर्घ सोडारी, कञ्चनपुरको तारालामा तामाङ र अछामका अध्यक्ष तोकिएका शेरबहादुर कुँवर अहिले उनको साथमा छैनन् ।

प्रदेशसभामा पनि कमजोर

सुदूरपश्चिम प्रदेशमा ओलीइतरका १७ सांसद छन् । तीमध्ये आधा दर्जन बढी सांसद नेपाल पक्षमा खुलेका छन् । अहिलेसम्म माधव÷ भीम पक्षमा रहेका एमाले संसदीय दलका नेता प्रकाश शाह मात्रै रावलको पक्षमा खुलेका छन् ।  उनी प्रदेश सरकारको आर्थिक मामिला तथा कानूनमन्त्री समेत हुन् ।

अझै केही सांसद रावल पक्षमा खुल्ने बताइए पनि अधिकांश माधव/भीम पक्षका सांसदहरू नयाँ पार्टीमा जाने दावी गरिएको छ । ‘अझै सल्लाह भइरहेको छ । हामीनिकट १७ जनामध्ये ३ वा ४ जना मात्रै एमालेमा रहन सक्छन् । अरू सबैले माधव नेपाललाई साथ दिन्छन्’ विगतमा रावलनिकट एक सांसदले भने ‘मैले पनि उहाँलाई साथ दिन सकिनँ ।’

सुरु देखिनै एमालेमा रहेका कैलालीका रतन थापा र नेपालु चौधरी, डडेल्धुराका पठानसिंह बोहरा, बैतडीका लिलाधर भट्ट, दार्चुलाका गेल्बुसिंह बोहरा र बझाङकी माया तामाङ बोहरा एमालेमै रहने भएका छन् ।  विगतमा रावलनिकट रहेर अहिले नयाँ पार्टीमा जाने योजना बनाएका एक प्रदेशसभा सदस्यले एमाले र एकीकृत समाजवादीमा आधा–आधा सांसद बाँडिने दावी गरे ।

२५ जना प्रदेशसभा सदस्य रहेको एमालेमा यसअघि नै ८ सांसदले एमालेलाई साथ दिने घोषणा गरिसकेका छन् । तीबाहेक १७ जना नेपाल /रावल पक्षका केही सांसद मात्रै एमालेमा रहने उनको दावी छ ।

प्रदेश सरकारमा पनि कमजोर

प्रदेश सरकारमा एमालेका अहिले चार मन्त्री र तीन राज्यमन्त्री छन् । उनीहरुमध्ये आर्थिक मामिला तथा योजना मन्त्री शाहले मात्रै रावललाई खुलेर साथ दिएका छन् । अन्य अधिकांश मन्त्रीले नेपाललाई साथ दिने एक मन्त्रीले बताए ।

‘कार्यकर्ताबाट नेपाललाई साथ दिन सुझाव आएको छ । मैले अझै खुलेर दल रोजेको छैनँ’, उनी भन्छन्, ‘मजस्तै धेरै अन्योलमा छन् । तर, धेरै मन्त्री नयाँ दलमा जान्छन् ।’  एमालेमा रहँदा मन्त्री पद जाने भएकाले पनि नेकपा एकीकृतमा जानेहरूको संख्या बढी हुनसक्ने उनको भनाइ छ ।

एमालेका ८ जना समानुपातिक सांसदमध्ये एक जना मात्रै ओली पक्षमा खुलेकी छन् ।  समानुपातिकमध्येकै पूर्णा जोशी र माया भट्ट नयाँ पार्टीको केन्द्रीय सदस्य छन् । समानुपातकिकै मना साउद सामाजिक विकास राज्यमन्त्री हुन् । दुर्गा विक प्रमुख सचेतक हुन् । अर्चना गहतराज, आर्थिक मामिला तथा योजना राज्य मन्त्री हुन् भने चुनकुमारी चौधरी भौतिक पूर्वाधार राज्यमन्त्री हुन् । सुशीला बुढाथोकीले मात्रै अहिलेसम्म पद पाएकी छैनन् ।

‘हिजो ओली पक्षमा जाने डरले समानुपातिकका सबैजसो सांसदले पद पाए । आज फेरि त्यहीं पद गुम्ने डरले रावलको साथ छोड्न बाध्य भएका हुन्’ नेपालनिकट एक सांसदले भने ।  उनले अहिले नेकपा एकीकृत समाजवादी पार्टीले आन्तरिक रुपमा सांसदहरूसँग छलफल चलाइरहेको समेत बताए ।

सुदूरपश्चिम प्रदेशमा १४ जना सांसद आफ्नो पक्षमा राख्ने नेकपा एकीकृत समाजवादीको दावी छ । यसो हुँदा प्रदेशको सबैभन्दा ठूलो दलनै एकीकृत समाजवादी हुनेछ ।  सबैभन्दा ठूलो दल बनाएर मुख्यमन्त्री बन्ने र थप केही सांसदलाई त्यहीं आश्वासनमा जोड्ने रणनीति रहेको एमालेका सांससदहरु बताउँछन् ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा हाल ५२ जना मात्रै सांसद छन् । माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि झपट बोहरा पद मुक्त भएका थिए । हाल ५२ जनामध्ये एमालेमा २५ सांसद छन् । तीमध्ये १४ सांसद एकीकृत समाजवादीमा गए सुदूरपश्चिममा सबैभन्दा कमजोर एमाले हुने देखिएको छ । 

माओवादी केन्द्रसँग १३, कांग्रेससँग १२ र जनता समाजवादी पार्टी जसपासँग २ सांसद छन् । २५ जेठमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने बेला एमालेको ओली पक्षसँग मिलेर विपक्षमा मतदान गरेको जसपाका दुवै सांसदले महन्थ ठाकुरको साथ छोडेका छन् ।

उपेन्द्र यादवको साथ पाएका उनीहरु दुवै सरकारमा जाने र एमाले इतरका दलहरूले सरकार चलाउने रणनीति तयार भइरहेको छ । यस्तो अवस्थामा प्रदेशमा भीम रावल थप कमजोर देखिने धेरैको बुझाइ छ ।