दार्चुलाको तुइन घटनाका पीडितलाई राहत दिन सरकारलाई सांसदको सुझाव
 
aa

राष्ट्रिय सभाका सदस्यहरूले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको शून्य समयमा भाग लिने सदस्यहरूले तुइन प्रकरण र भूमि फिर्ताका विषयमा भारतसित वार्ता गर्न सरकारसँग माग गरेका छन् । शून्य समयमा नेकपा एमालेका सांसद दिपा गुरुङले दार्चुलाको तुइन घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) दोषी भएकाले कारवाहीको पहल गर्न सरकारसँग माग गरिन् । उनले महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्नुपर्नेमा जोड दिइन् ।

नेकपा एमालेका सांसद नैनकला ओझाले भारतद्वारा अतिक्रमित लिम्पयाधुरा, कालापानी र लिपुलेकलाई समेटेर चुच्चे नक्सा जारी गरिए पनि अब भूमि फिर्ताका लागि पहल गर्नुपर्ने बताइन् । उनले अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग कूटनीतिकरूपमा वार्ता गर्न सरकारसँग माग गरिन् । 

नेकपा एमालेका सांसद नन्दा चपाईंले पछिल्लो समय देशभर महिला हत्या हिंसा र बलात्कारका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन् । महिला हत्या हिंसा र बलात्कारका घटनामा कमी ल्याउन उचित कदम चाल्न उनले सरकारसँग माग गरिन् ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले अपाङ्गता भएका व्यक्ति अझै पनि आफ्नो हकअधिकारबाट वञ्चित भएको बताए । अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको हकअधिकार दिलाउन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए ।