दार्चुलाको तिंकरमा बोर्डर आउट पोष्ट निर्माण कार्य सकियो
 
aa

दार्चुलाको तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट निर्माण गरिएको छ।  बीओपीले तिब्बत भएर हुने चोरी, तस्करी, शिकार नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निगरानी तथा नियन्त्रण गर्नेछ। धुलिखेल प्याराडाईज एलबी जेभीले ८७ लाख रुपैयाँको ठेक्कामा निर्माण गरेको उक्त बीओपीका प्रिफ्याव दुई भवन, दुई बाथरुम, एउटा किचेन र बाहिर दुई बाथरुम रहेका छन्।

सडक मार्गसंग नजोडिएको तिंकरमा हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरेर निर्माण कार्य पुरा गरेको निर्माण कम्पनीले बताएको छ। ६ महिनाभित्र निर्माण कार्य पुरा गर्ने गरी पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाईज एलबी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो। सो अवधिभरी हिउँले ढाकिएका कारण निर्माण कार्य अघि बढाउन नसकिएको निर्माण कम्पनीले जनाएको छ।

सम्झौतामा मान्छेद्वारा निर्माण सामग्री ढुवानीका लागि बजेट राखिएकोमा हेलिकोप्टरबाट ढुवानी गरिँदा ठेक्का सम्झौता गरिएको रकमभन्दा बढी खर्च भएको बताइएको छ।