दार्चुला घटनाबारे भारतसामु औपचारिक विरोध जनाउन एमालेको माग
 
ganesah thagunna

प्रमुख विपक्षी नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामु औपचारिक विरोध जनाउन माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले एसएसबीका जवानले तार काट्दा जयसिंह धामी नदीमा खसेको बताए । उनले भने, ‘त्यहाँ उपस्थित मानिसहरुले तार नकाटिदिन हारगुहार गर्दा पनि तार निकाल्दा दुःखद र अमानवीय घटना घट्न पुगेको छ ।’

प्रत्यक्षदर्शीहरुको बयान र जयसिंह धामीको परिवारले किटानी जाहेरी दिइसक्दा पनि सरकारले भारतीय राजदूतलाई बोलाएर औपचारिक विरोध जनाउन नसकेको उनले बताए । सांसद ठगुन्नाले भने, ‘भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिनको नाटक गरेर घटना साम्य पार्ने प्रयास गरिरहेको छ ।’ गृह मन्त्रालय र स्थानीय प्रशासनको वक्तव्य हेर्दा सरकार गम्भीर नदेखिएको समेत उनले बताए ।

सांसद ठगुन्नाले घटनाको विरोधमा भारतसँग औपचारिक विरोध जनाउन, मृतकका परिवारलाई क्षतिपूर्ति घोषणा गर्न र दोषी एसएसबीलाई कारबाही गर्न माग गरेका छन् । साथै घटनाको छानबिन गर्न संसदीय समिति बनाउन र दार्चुला–तिंकर सडकलाई राष्ट्रिय गौरव आयोजना घोषणा गर्न माग गरेका छन् ।