डडेल्धुरामा महिला मृत्यु प्रकरणः तीन दिनसम्म पनि पोष्टमार्टम भएन, स्थानीय आक्रोसित, प्रहरीका तीन टोली अनुसन्धानमा
 
dd

गत शनिवार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी परशुराम नगरपालिका–८ जमरानीकी २६ बर्षिया अस्मिता धामीको अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन । जोगबुडा अस्पतालको शवगृहमा राखिएको अस्मिताको शव विज्ञ चिकित्सक र उपकरण अभावमा पोष्टमार्टम हुन नसकेको अस्पतालले जनाएको छ ।

शबको पोष्टमार्टम समयमा नहुँदा अपराधी उम्कने भन्दै पिडित पक्ष आक्रोसित भएका छन । अस्मिताको शवको पोस्टमार्टम चाडो भन्दा चाडो हुनेपर्ने माग गदै स्थानीयले परशुराम नगरपालिकाका कार्यालय प्रमुख र उपप्रमुखको कार्यकक्ष घेराउ समेत गरेका छन । जोगबुडा अस्पतालमा बिषय विज्ञ डाक्टर नभएकाले जटिल प्रकृतिको घटनामा विज्ञ माग गर्न अनुरोध गरेको जोगबुडा अस्पतालका डाक्टर मानबहादुर बोहराले जानकारी दिए । 

उता नगरपालिकाले पनि प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयसंगै कैलाली कञ्चनपुरमा विज्ञ डाक्टर मागका लागि पत्राचार र टेलिफोन सम्पर्क गरि सकेको परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउँदले जानकारी दिए । असार २ गतेदेखिी वेपत्ता भएकी परशुराम–८ जमरानीको आधारभूत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगी पदमा कार्यरत अस्मिता धामीको शनिवार बिहान ११ बजे परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो ।

घटनास्थलमा भेटिएका भ्याक्सीन क्यारिङ बक्स, मृतकको चप्पल, एक ब्लु डायमण्ड नामक मदिराको खाली सिसी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक अस्मिताले प्रयोग गर्ने गरेको मोवाईल सेट फेला पार्न सकिएको छैन । प्रहरीले घटनाको अनुसन्धानलाई तिव्रता दिएको छ । थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश धनगढीवाट प्रहरी नायव निरिक्षक पदम थापा, जिल्ला प्रहरी कार्यालय डडेल्धुरावाट प्रहरी नायव उपरिक्षक महेन्द्र नेपाल र संघीय प्रहरी कार्यालय कञ्चनपुरवाट प्रहरी नायव उपरिक्षक लक्ष्मण शाही नेतृत्वको टोली घटनाको अनुसन्धानमा खटिएको छ ।