सीमापार विष्फोट हुँदा अवरुद्ध भएको बाटो नखोल्ने भारतको संकेत, पत्रको जवाफ समेत दिएन
 
mm

सीमापार विष्फोट हुँदा नेपालतर्फको बाटो अवरुद्ध गरे पनि भारतले तत्काल बाटो नखोल्ने देखिएको छ। पहिरोका कारण एक हप्तादेखि बाटो अवरुद्ध हुँदा पनि भारतले कुनै चासो दिएको छैन । भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा खसेको चट्टानले गत मंगलबारदेखि नदी थुनिएको छ भने नेपालतर्फको बाटो भत्किएको छ । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित महाकाली किनारको घोडेटो बाटो भत्किएको हो ।
उक्त अवरोध हटाउन बिहीबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी आनन्द स्वरूपलाई पत्र पठाएका थिए । तर सोमबार दिउँसोसम्म भारतीय प्रशासनबाट कुनै जवाफ नआएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । 

भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो गएको र नेपालको बाटो अवरुद्ध भएकोले पहिरो हटाइदिन नेपालले पत्रमा आग्रह गरेको छ । तर अहिलेसम्म पनि भारतले पहिरो हटाएको छैन भने पत्रको पनि जवाफ दिएको छैन । जोशीका अनुसार दार्चुला प्रशासनले तत्कालका लागि वैकल्पिक बाटो निर्माण गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले यस विषयमा थप पहल गरिदिन भन्दै परराष्ट्र मन्त्रालयमा आइतबार पत्र पठाइसकेको जानकारी दिए ।