दैनिक छाक टार्न मुस्किल भएपछि सुदूरपश्‍चिमबाट १६ दिनमा १३ हजार नेपाली भारत प्रवेश
 
corona

दैनिक छाक टार्न मुस्किल भएपछि कोरोना महामारीकै बीच सुदूरपश्‍चिमबाट दैनिक आठ सयको हाराहारीमा नेपाली भारततर्फ लागेका छन् । स्वदेशमा रोजगारी नभएपछि मजदुरीका लागि उनीहरु भारत गएका हुन् । नेपालीहरु भारत जान कोरोना संक्रमणको जोखिम भए पनि सुदूरका पहाडी जिल्लामा जीवन चलाउन सहज नभएपछि उनीहरु भारत फर्किन लागेका हुन् ।

सीमावर्ती सहर गौरीफन्टा र वनबासाबाट उनीहरु भारतीय बसमा विभिन्‍न गन्तव्यतर्फ लाग्‍ने गरेका छन् । यसअघि प्रहरीले भारतबाट आउने-जानेहरुको तथ्याङ्‍क राख्‍ने गरेको थिएन । कोरोना महामारीपछि तथ्याङ्‍क राख्‍न सुरु भएको हो । कैलालीको गौरीफन्टा, कञ्‍चनपुरको गड्‍डाचौकी, दार्चुला र बैतडीका सीमानाकाबाट दैनिक आठ सयको हाराहारीमा नेपालीहरु भारत प्रवेश गरेका हुन् ।

भारतमा कोरोना संक्रमणको अवस्था भयावह भए पनि नेपालमा पेट पाल्नै मुस्किल भएको उनीहरुको दुखेसो छ । भारतमा कोरोना महामारी सुरु भएपछि उनीहरु नेपाल फर्किएका थिए । लामो समयसम्म पनि कोरोना महामारीको अन्त्य नभएपछि उनीहरु पुन: भारत फर्किन बाध्य भएका हुन् ।

सुदूरपश्‍चिमका पहाडी जिल्ला र कर्णालीका लाखौं नेपाली भारतमा मजदुरी गर्दै आएका छन् । पहाडी भेकमा अन्‍न उत्पादन नहुने र स्थानीयस्तर रोजगारीका अन्य विकल्पसमेत नभएपछि सुदूर र कर्णालीका बासिन्दालाई मजदुरीको पहिलो विकल्प भारत बनेको हो ।

सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ देखि १६ गतेसम्म १२ हजार ७ सय  ६३ नेपाली भारत प्रवेश गरेका छन् । जसमा २४ सय ५० महिला र १४ सय ५ बालबालिका पनि छन् । सुदूर र कर्णालीका विपन्‍न नागरिक परिवारसहित भारत पस्‍ने गरेका छन् । पछिल्लो १६ दिनकै अवधिमा ८ हजार ११४ जना भारतबाट स्वदेश फर्किएको सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जनाएका छन् ।

सरकारले गाउँमा रोजगारी सिर्जना गर्न नसक्दा ज्यान जोखिममा राखेर उनीहरु भारत पस्‍न बाध्य छन् । कैलालीको गौरीफन्टा नाकाबाट भारत जानेको संख्या अधिक छ । भारत पसेका नेपालीहरु सिमला, बैंगलुरु, नयाँदिल्ली, मुम्बई लगायत सहरमा मजदुरीका लागि पुग्‍ने गर्छन् । नेपालमा तीन तहका सरकार भइसक्दा पनि स्वदेशमै रोजगारीको सिर्जना हुन सकेको छैन । यसै कारण पनि सुदूर तथा कर्णालीका लाखौं बासिन्दा मजदुरीका लागि भारत जान बाध्य छन् ।