जेठ ३ गते विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारी, एमालेको पुरानै अडान
 
ss

लगातार दुई पटकसम्म विश्वासको मत लिने तयारी गरेर अन्तिममा पछि हटेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तेस्रो पटक तयारी थालेका छन् । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएपछि उनले वैशाख २१ गते विश्वासको मत लिने तयारी गरेका थिए । विश्वासको मत लिनकै लागि वैशाख २१ गते साँझ ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, एमालेले तत्काल केन्द्रमा छलफल नभएको र केन्द्रीय नेतृत्वसँग छलफल र परामर्श नगरी विश्वासको मत नदिने बताएपछि पहिलो दिन अन्तिम समयमा विश्वासको मत लिने प्रक्रियामा ब्रेक लागेको थियो ।

मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत नपाउने देखेपछि २२ गते साँझ ५ः३० बजे प्रदेश सभा बैठक आह्वान गर्न लगाएका थिए । त्यो दिन पनि एमालेले आफ्नो पुरानै अडान दोहोराएको थियो । २२ गते पनि विश्वासको मत पाउने सम्भावना नरहेपछि अर्को सूचना जारी नहुँदा सम्मको लागि प्रदेश सभा बैठक स्थगित गरिएको थियो । अहिले सम्म प्रदेश सभा बैठक कहिले बस्ने भन्ने निश्चित छैन। तर, मुख्यमन्त्री सोडारी भने पहिलो र दोस्रो प्रयासमा विश्वासको मत नपाउने देखेपछि जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । विश्वासको मतको लागि मुख्यमन्त्री सोडारीले केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल र परामर्श बढाइरहेका छन् । केन्द्रमा भएकै छलफलको आधारमा जेठ ३ गते विश्वासको मत लिने तयारी गरिएको एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको उपनेता प्रकाश रावलले जानकारी दिए । ‘शीर्ष नेताहरूसँगको छलफलपछि प्रधानमन्त्रीज्यूले मुख्यमन्त्रीज्यूलाई जेठ ३ गते विश्वासको मत लिन तयारी गर्न निर्देशन दिनुभएको हो । सोही अनुसार तयारी भइरहेको हो’ उनले भने ।

मुख्यमन्त्री सोडारीले ३ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला नेकपा एमालेले भने अझै विश्वासको मतका विषयमा ठोस सहमति नभएको जनाएको छ । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रबाट कुनै निर्देशन नआएको हुँदा ३ गते नै विश्वासको मत दिने विषयमा कुनै तयारी नभएको बताए । ‘विश्वासको मत दिन हतार गर्नु पर्ने बेला छैन । केन्द्रबाट त्यस्तो नयाँ निर्देशन आएको छैन ’ उनले भने, ‘मलाई मेरो पार्टी नेतृत्वले नभने सम्म विश्वासको मत दिने कुरा छैन । ’

मुख्यमन्त्री सोडारीले प्रदेशमा सत्ता गठबन्धनका नेताहरूसँग पर्याप्त छलफल नगरेको भन्दै उनले केन्द्रमा भएको छलफलमा बारे आफू अनविज्ञ रहेको जानकारी दिए । उनले भने, ‘यहाँ छलफल गर्नु पर्दैन रु सत्ता साझेदारहरूसँग परामर्श विना एक्लै विश्वासको मत लिने मिति निर्धारण गरेर हुन्छ । मलाई मेरो पार्टीले केही भने छैन ,अन्त केके छलफल भयो मलाई जानकारी छैन । ’ नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त हुँदा पनि एमालेले अन्तिम समयमा मात्रै समर्थन गरेको थियो । समर्थन पछि तत्काल सरकारमा सहभागी नहुने पनि एमालेले निर्णय गरेको छ ।

सत्तारुढ घटक माओवादी केन्द्रले भने मुख्यमन्त्री सोडारीको चाँडै विश्वासको मत लिई मन्त्री मण्डल विस्तार गर्नुपर्नेमा जोड दिँदै आएको छ । माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका उपनेता अक्कल रावलले बजेट अधिवेशन आह्वान गर्ने र प्रिबजेट छलफलको बेला भएको भन्दै विश्वासको मत र मन्त्रीमण्डल विस्तारको कार्य चाँडै टुङ्ग्याउनुपर्ने बताउँछन् । सोडारीले वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी ९रञ्जिता०पक्ष र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनको दाबी असंवैधानिक रहेको भन्दै नागरिक उन्मुक्ति पार्टी ९रेशम पक्ष०का लक्ष्मण किशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सोसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।